खेल

यो सही समयमा हार हो– कप्तान रोहित

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार चौथो खेलसम्म अपराजित यात्रा पूर्णविराम लागेपछि लुम्बिनीका कप्तान रोहित पौडेलले प्लेअफमा पुग्न हारका लागि यो राम्रो समय रहेको बताएका छन् ।

काठमान्डु गोर्खाजसँग हारपछि पत्रकार सम्मेलनमा रोहितले यो समयमा हारले अगाडि बढ्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् । आगामी दुई खेलमा राम्रो गर्दा प्लेअफमा पुग्ने अवसर पनि रहेको रोहितले विश्वास व्यक्त गरे ।  

यो हारपछि केही राम्रो गर्न सकिन्छ भन्ने टोलीमा विश्वास आउने पनि उनी बताउँछन् । किशोर महतोको चोटले केही परिवर्तन गर्नु परेको र त्यसले गर्दा पहिलो १० ओभरको बलिङमा असर पुगेको उनको भनाइ छ ।  

अन्तिम तीन ओभरमा धेरै रन खाए पनि राम्रो योजनाअनुरूप बलर प्रयोग गरिएको कप्तान रोहित बताउँछन् । १६१ रनको लक्ष्य पूरा हुन सक्ने खालको रहेको उनको विश्वास छ । तर पावरप्लेमा धेरै विकेट गुमाउँदा समस्या भएको उनले उल्लेख गरे । आसिफ शेख, डार्सी सर्टले आगामी दिनमा राम्रो खेल्ने उनको विश्वास छ ।  

सन्दीज जोराले राम्रो इनिङ खेल्नु सकारात्मक रहेको रोहितले बताए । जोरा र अभिशेष गौतमको बलिङ विशेष महत्त्वपूर्ण रहेको उनको विश्वास छ ।

काठमान्डु गोर्खाजका बलर जाहानदाद खानले प्रदर्शनले आगामी दिन धेरै मद्दत मिल्ने विश्वास व्यक्त गरे । अघिल्लो खेलमा फास्ट बलिङका लागि मद्दत नभएको उनले उल्लेख गरे । खेलमा फास्ट बलरका लागि स्विङ हुने पिच रहेको हुँदा विकेट आएको उनी बताउँछन् । जाहानदादले समर्थकको उत्साहले नेपालमा खेल्न धेरै रमाइलो लागेको पनि बताए । काठमान्डु गोर्खाजले आगामी दिन राम्रो खेल्ने पनि विश्वास व्यक्त गरे ।

प्रकाशित: २२ कार्तिक २०८३ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App