क्रिकेट अस्ट्रेलियाले बिग बास लिग (बीबीएल) र महिला बिग बास लिग (डब्ल्यूबीबीएल) मा निजी लगानी भित्र्याउने बाटो खुला गरेको छ। तर कुन फ्रेन्चाइजमा कहिले निजी लगानी भित्र्याउने भन्ने अन्तिम निर्णय सम्बन्धित राज्य क्रिकेट संघले गर्न पाउनेछ।
क्रिकेट अस्ट्रेलियाले यसअघि बीबीएलका सबै फ्रेन्चाइजलाई एकैपटक बिक्री गर्ने योजना अघि सारेको थियो। तर न्यु साउथ वेल्स र क्वीन्सल्यान्डले त्यसमा असहमति जनाएपछि अब ‘सेल्फ-डिटरमिनेसन मोडल’ लागू गर्ने निर्णय गरिएको हो।
यस मोडलअन्तर्गत प्रत्येक राज्य संघले आफ्नो फ्रेन्चाइजमा निजी लगानी भित्र्याउने वा स्वामित्वको हिस्सा बिक्री गर्ने विषयमा आफैं निर्णय गर्न सक्नेछ।
क्रिकेट अस्ट्रेलियाले पहिलो चरणमा मेलबर्न रेनेगेड्सको शतप्रतिशत लाइसेन्स बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ। आगामी सिजन रेनेगेड्सको सञ्चालन क्रिकेट अस्ट्रेलियाले नै गर्नेछ। नयाँ स्वामित्वअन्तर्गत रेनेगेड्सले सन् २०२७-२८ को बीबीएल सिजन खेल्ने लक्ष्य राखिएको छ।
रेनेगेड्सको बिक्रीले भने आगामी २०२६-२७ को बीबीएल र डब्ल्यूबीबीएलमा कुनै असर पर्ने छैन।
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले गत वर्ष ‘द हन्ड्रेड’का आठ टोलीमा निजी लगानी भित्र्याउँदा ५० करोड पाउन्डभन्दा बढी रकम संकलन भएको थियो। आठ फ्रेन्चाइजको संयुक्त मूल्यांकन ९७ करोड ५० लाख पाउन्डभन्दा बढी गरिएको थियो। त्यसपछि अस्ट्रेलियाको बीबीएलमा पनि निजी लगानीकर्ताको आकर्षण बढेको हो।
मेलबर्न रेनेगेड्ससँगै होबार्ट हरिकेन्स, मेलबर्न स्टार्स र पर्थ स्कोर्चर्स निजी लगानी भित्र्याउन इच्छुक देखिएका छन्। तर सिड्नी सिक्सर्स, सिड्नी थन्डर, ब्रिस्बेन हिट र एडिलेड स्ट्राइकर्स तत्काल निजी लगानीका लागि प्रतिबद्ध हुन इच्छुक छैनन्।
क्रिकेट अस्ट्रेलियाले भने भविष्यमा यी फ्रेन्चाइजका लागि पनि निजी लगानीको विकल्प खुला रहने जनाएको छ।
निजी लगानी भित्रिए पनि अन्तर्राष्ट्रिय खेल तालिका, खेलाडीको उपलब्धता, तलब सीमा र प्रसारण अधिकारमाथिको नियन्त्रण क्रिकेट अस्ट्रेलियासँगै रहनेछ। सम्भावित लगानीकर्तालाई स्वीकृति दिने वा अस्वीकार गर्ने अधिकार पनि क्रिकेट अस्ट्रेलियाले राख्नेछ।
क्रिकेट अस्ट्रेलियाका अध्यक्ष माइक बेयर्डले बीबीएल र डब्ल्यूबीबीएलको दीर्घकालीन विकास र मजबुतीका लागि निजी लगानी महत्वपूर्ण कदम भएको बताए।
उनले निजी लगानीले प्रतियोगिताको विकासलाई गति दिनुका साथै सामुदायिक क्रिकेट, ग्रासरुट कार्यक्रम, घरेलु तथा अन्तर्राष्ट्रिय खेलाडी विकास र उच्चस्तरीय क्रिकेटमा थप लगानी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
यसैबीच क्रिकेट अस्ट्रेलिया र अस्ट्रेलियन क्रिकेटर्स एसोसिएसनबीच खेलाडीको पारिश्रमिकसम्बन्धी विवाद समाधानका लागि छलफल जारी रहेको छ।
प्रकाशित: २४ भाद्र २०८३ ०७:१८ बुधबार