खेल

लुम्बिनी लायन्सले सार्वजनिक गर्‍यो नयाँ लोगो

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले सोमबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ।

टोलीले उक्त लोगो खेलकुदको प्रतीक मात्र नभई बुद्धभूमि लुम्बिनीको सांस्कृतिक विरासत, ऐतिहासिक महत्त्व र राष्ट्रिय गौरवको संगम भएको बताएको छ।

लोगो सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वरबहादुर जिसीले नयाँ लोगोले टोलीको भावना र पहिचानलाई सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।

‘यो लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ,’ उनले भने, ‘बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ।’

सार्वजनिक गरिएको नयाँ लोगोमा नेपाली पहिचान झल्काउने विभिन्न तत्त्वहरूलाई कलात्मक रूपमा समेटिएको छ। लोगोको केन्द्रमा भगवान बुद्धको जन्मस्थलको प्रतीकका रूपमा मायादेवी मन्दिर र सम्राट अशोकद्वारा ई.पू. २४९ मा स्थापित ऐतिहासिक अशोक स्तम्भ लाई स्थान दिइएको छ।

त्यसैगरी, लोगोमा नेपालको राष्ट्रिय झन्डामा रहेको रातो रङचन्द्र-सूर्यको प्रतीक लाई पनि समावेश गरिएको छ। लोगोमा प्रयोग गरिएको सुनौलो अक्षरले लुम्बिनीमा निरन्तर बलिरहेको शान्तिदीपको सन्देश दिने टोलीले जनाएको छ।

वि.सं. २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा ऊर्जा र उत्साहका साथ प्रतिस्पर्धा गर्न तयार रहेको अध्यक्ष जिसीले बताए। उनले भने, ‘लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको छ।’

प्रकाशित: ५ श्रावण २०८२ १९:०२ सोमबार

#Nagariknews #LumbiniLions