खेल

रोमाञ्चक मोडमा खेल: म्याथ्युज र प्रतिश आउट भएपछि संकटमा विराटनगर

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को २२औं खेलमा पोखरा एभेन्जर्सविरुद्ध १३३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १५ ओभर सकिँदा संकटमा परेको छ।

विराटनगरले १५ ओभरको खेल समाप्त हुँदा ५ विकेट गुमाएर मात्र ८४ रन बनाएको छ।

टोलीको हालको रनरेट ५.६० मात्र रहँदा आवश्यक रनरेट बढेर ९.८० पुगेको छ। क्रिजमा बसिर अहमद २६ रन र शेहान जयसूर्या ३ रन बनाएर अविजित छन्।

पछिल्ला पाँच ओभरमा विराटनगरले २ विकेट गुमाउँदै मात्र २८ रन जोड्न सक्यो। १३औं ओभरको अन्तिम बलमा अनुभवी ब्याटर एन्जेलो म्याथ्युज ८ रनको व्यक्तिगत स्कोरमा धनञ्जय लक्षणको बलमा कप्तान चमिका करुणारत्नेबाट क्याच आउट भए।

त्यसलगत्तै १४औं ओभरको तेस्रो बलमा प्रतिश जिसी खाता नै नखोली रमेश मेन्डिसको बलमा एलबीडब्लूको शिकार बनेपछि विराटनगर ७८-५ को नाजुक स्थितिमा पुगेको थियो।

यसअघि विराटनगरका ओपनर इमरान शेख १०, चरिथ असालंका शून्य र राम्रो लयमा रहेका विकेटकिपर ब्याटर लोकेश बम ३३ रन बनाएर आउट भएका थिए।

पोखराका बलरहरूले कसिलो बलिङ गर्दै खेल आफ्नो पकडमा राखेका छन्। पोखराका लागि रमेश मेन्डिसले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। त्यस्तै कुशल भुर्तेल, विपिन खत्री र धनञ्जय लक्षणले समान १-१ विकेट हात पारे। सागर ढकालले ४ ओभरमा २२ रन दिए।

यसअघि पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो। पोखराका लागि युवराज साम्राले ८४ रनको अर्धशतकीय इनिङ खेलेका थिए।

विराटनगरका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ह्याट्रिकसहित २७ रन खर्चेर ६ विकेट लिएका थिए।

प्रकाशित: २६ कार्तिक २०८३ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App