खेल

काठमाडौंलाई पोखराले दियो २२५ रनको कीर्तिमानी लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्धको २२५ रनको विशाल तथा कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले कुशल भुर्तेल र युवराज सम्राको विस्फोटक इनिङ्सको मद्दतले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर २२४ रन बनायो।

पोखरालाई विशाल योगफलमा पुर्‍याउन कुशल भुर्तेल र युवराज सम्राले दोस्रो विकेटका लागि १६ ओभरमा १८६ रनको साझेदारी गरे।

भुर्तेल ५१ बलमा ८ चौका र ८ छक्कासहित १९४.११ को स्ट्राइक रेटमा ९९ रन बनाएर शतकबाट मात्र १ रनले चुके। यस्तै, सम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतले ८९ रन जोडे।

अन्त्यतिर पोखराका कप्तान चमिका करुणारत्नेले आक्रामक ब्याटिङ गर्दै ७ बलमा १ चौका र २ छक्कासहित अविजित १९ रन जोडेर टिमलाई २२४ रनको स्कोरमा पुर्‍याए। धनञ्जय लक्षण २ बलमा २ रन बनाएर अविजित रहे।

पावरप्लेको ६ ओभरमा ६५-१ को स्थितिमा रहेको पोखराले ८.४ ओभरमै १०० रन, १३ ओभरमा १५० रन र १७.५ ओभरमा २०० रन पूरा गरेको थियो। पछिल्लो ५ ओभरमा पोखराले २ विकेट गुमाएर ५९ रन जोड्यो।

यसअघि २.२ ओभरमा १७ रन हुँदा ओपनर तथा विकेटकिपर अर्जुन कुमाल ५ रन बनाएर जहान्दाद खानको बलमा विकेटकिपर साहिल पटेलबाट क्याचआउट भएका थिए।

त्यसपछि सम्रा र भुर्तेलले काठमाडौंका बलरमाथि दबाब बनाए पनि १९औं ओभरमा काठमाडौंका कप्तान करण केसीले दुवै सेट ब्याटरलाई आउट गरे। करणले १८.२ ओभरमा भुर्तेललाई पटेलबाट तथा १८.५ ओभरमा सम्रालाई भीम सार्कीबाट क्याचआउट गराए।

काठमाडौं गोर्खाजका कप्तान करण केसीले ४ ओभरमा ३४ रन खर्चेर सर्वाधिक २ विकेट लिए भने जहान्दाद खानले ४ ओभरमा ४७ रन दिएर १ विकेट हात पारे।

रशिद खानले ४ ओभरमा ५५ रन तथा सहन अरच्चिगेले ३ ओभरमा ४० रन खर्चिए। गणेश गौतमले ३ ओभरमा २५ र सन्तोष यादवले २ ओभरमा २१ रन दिएर विकेट लिन सकेनन्। पोखराले अतिरिक्तका रूपमा १० रन पाएको छ।

प्रकाशित: २९ कार्तिक २०८३ १८:४५ आइतबार