तीन पाकिस्तानी खेलाडीको साथमा पाएको सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा सुखद सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्समाथि ३–१ को सेटमा जित निकाल्दै सुखद सुरुआत गरेको हो। तीन पाकिस्तानी खेलाडी अइमल खान, फखर उद दिन र फैजान उल्लाह सगरमाथाबाट खेल्दैछन्।
अइमलले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि सगरमाथाले जितसहित सिजनको सुरुआत गर्यो। उनी म्यान अफ दी म्याच पनि भए। त्यसबापत उनले २० हजार रुपैयाँ नगद पुरस्कार पाए। त्यो पुरस्कार अइमलले नेपालमा बाढी पीडित परिवारका लागि दिने घोषणा गरेका छन्। उक्त खेलमा मधेशले चुनौती दिने प्रयास गरे पनि सफल भएन।
पहिलो सेट २५–२१ ले सहजै आफ्नो बनाउँदै सगरमाथाले दबाब बनाएको थियो। यो सेटमा १८–१८ को स्थितिमा दुवैले प्रतिस्पर्धा गरेका थिए। तर, सेटमा जितनजिक पुगेपछि मधेशले गल्ती गर्यो। पहिलो सेट गुमाएपछि मधेशले कमजोर आत्मबलका साथ प्रदर्शन गरेको थियो। दोस्रो सेटमा पनि मधेश दबाबमा नै रह्यो।
एक समय सगरमाथा १५–१० को अग्रतामा थियो। तर पनि सगरमाथालाई दोस्रो सेटमा जित निकाल्न सहज भने भएन। यो सेट सगरमाथाले २५–२१ ले आफ्नो बनायो। यससँगै सगरमाथा सेटमा २–० ले अगाडि रह्यो। तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो। मधेशले त्यसमा बाजी मार्दै खेलमा फर्कने संकेत गर्यो। यो सेट मधेशले २५–२३ ले आफ्नो पक्षमा राख्यो। यससँगै खेल २–१ को स्थितिमा रह्यो।
यो लयलाई चौथो सेटमा मधेशले कायम राख्न सकेन्। सगरमाथाले चौथो सेटमा एकपक्षीय अग्रता बनायो। यो सेट २५–१५ ले जित्दै सगरमाथा खेल आफ्नो पक्षमा पार्न सफल भयो। केडिया ग्रुपद्वारा आयोजित एनभिएलको पहिलो सिजनमा कुल ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
नेपाली पुरूष भलिबलमा पहिलोपल्ट आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख प्राप्त गर्नेछ। नेपाली भलिबलमा यो अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो। पहिलो संस्करण विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछ। पहिलो संस्करणको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ तय गरिएको छ। एनभिएलका उपविजेता र तेस्रो हुने टोलीको पुरस्कार राशि भने आयोजकले घोषणा गरेको छैन।
कुल ३२ लाख रुपैयाँको पुरस्कारबाट उपविजेता र तेस्रो हुने टोलीले पुरस्कार पाउने आयोजकले जनाएको छ। बाँकी १२ लाख उपविजेता, विभिन्न ७ विधाका उत्कृष्ट र १७ खेलका म्यान अफ द म्याचको नगद पुरस्कारका लागि विनियोजन गरिएको छ। लिगमा खप्तड फाल्कन्स, मधेश वारियर्स, सगरमाथा स्म्यासर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलका लागि प्लेअफ खेल्नेछन्। फाइनल र प्लेअफसहित प्रतियोगितामा कुल १७ खेल हुनेछन्।
प्रकाशित: २० भाद्र २०८३ ०६:४० शनिबार