खेल

आन्द्रे रसेलको आक्रामक इनिङ्सपछि खेल रोमाञ्चक मोडमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा आन्द्रे रसेलको विष्फोटक ब्याटिङसँगै चितवन राइनोजविरुद्ध विराटनगर किंग्स जितको नजिक पुगेको छ। १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले १५.५ ओभरमा ५ विकेट गुमाएर १३२ रन जोडेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरलाई अब जितका लागि २५ बलमा मात्र २६ रन आवश्यक छ।

हाल टोलीको प्रतिओभर रनरेट ८.३३ रहेको छ भने आवश्यक रनरेट प्रतिओभर ६.२४ मात्र छ। क्रिजमा अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्युज ११ बलमा १ चौकासहित १० रन बनाएर सम्हालिएर खेलिरहेका छन्।

विराटनगरलाई जिततर्फ डोहोर्‍याएका विष्फोटक अलराउन्डर आन्द्रे रसेल १५.५ ओभरमा टोलीको स्कोर १३२ रन हुँदा पाँचौं विकेटका रूपमा आउट भए। उनले मात्र १७ बलमा १ चौका र ४ विशाल छक्काको मद्दतमा ३३ रनको आक्रामक इनिङ्स खेले। उनलाई कमल ऐरीको बलमा देव खनालले क्याच आउट गराए।

यसअघि विराटनगरले ११.५ ओभरमा ८९ रनको कुल स्कोर हुँदा बसिर अहमदलाई चौथो विकेटका रूपमा गुमाएको थियो।

१३ बलमा १३ रन बनाएका उनलाई पनि कमल ऐरीले नै बोल्ड आउट गरेका थिए। त्यसअघि ओपनर इमरान शेख ३९, लोकेश बम २६ र चरिथ असालंका ८ रन बनाएर आउट भइसकेका छन्।

चितवनका लागि बलिङतर्फ कमल ऐरीले खेलमा उत्कृष्ट पुनरागमन गराउँदै २.५ ओभरमा २२ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिएका छन्।

यस्तै, रञ्जित कुमारले ३ ओभरमा १० रन, ड्यान मौस्लेले ३ ओभरमा २९ रन र मौसम ढकालले ३ ओभरमा ३० रन खर्चेर समान १-१ विकेट हात पारेका छन्।

कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरलाई खेल आफ्नो पक्षमा पार्न अब थप २६ रनको दरकार छ भने नयाँ ब्याट्सम्यानका रूपमा सुभम रञ्जाने मैदान प्रवेश गर्दैछन्।

प्रकाशित: १० कार्तिक २०८३ १५:५२ मंगलबार