राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्सले जारी मेयर कप सप्तरी प्राइड लिगको सातौं संस्करणको फाइनलमा स्थान बनाएका छन्।
सप्तरीको राजविराजमा निरन्तर वर्षाका कारण बुधबार तय सेमिफाइनलका दुई खेल नै रद्द भए। त्यसैले नियमअनुरूप समूह चरणका खेलमा दुई समूहका विजेता टोली फाइनलमा स्थान बनाउन योग्य भएका हुन्।
अब उपाधिको लागि राजविराज राजदेवी र डिफेन्डिङ च्याम्पियनसमेत रहेको टाइगर्सबीच बिहीबार प्रतिस्पर्धा हुनेछ। राजविराज राजदेवी रोयल र खडक वारियर्सबीचको पहिलो सेमिफाइनल तथा तिरहुट टाइगर्स र कञ्चनरूप राइनोज बीचको दोस्रो सेमिफाइनल खेल दुवै निरन्तर वर्षाका कारण सम्भव भएनन्। दुवै खेलका टससमेत भएनन्। यस प्रतियोगितामा कुल आठ टोली सहभागी थिए।
तीमध्ये सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ’ए’ को विजेताको रूपमा राजविराज राजदेवी रोयलले तीन खेलबाट सर्वाधिक पाँच अंक जोडेको थियो। समूह ‘बी’ बाट तीन खेलबाट ६ अंकसहित तिरहुट टाइगर्स समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो।
समूह ‘ए’ बाट तीन खेलबाट चार अंक बटुल्दै समूह उपविजेताको रूपमा कञ्चनरूप राइनोज र समूह ‘बी’ बाट तीन नै खेलबाट चार नै अंक बटुल्दै खडक वारियर्स समूहको उपविजेताका रूपमा सेमिफाइनल पुगेका थिए। सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रूपैयाँ प्राप्त गर्नेछन्।
प्रकाशित: १ श्रावण २०८२ ०८:१८ बिहीबार