खेल

महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले नगद पुरस्कार पाउने

आईसीसी महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले यसबारे जानकारी गराएका हुन्। घोषणा अनुसार प्रतियोगिताभरि सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीलाई  ५० हजार रुपैयाँ र सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडीलाई ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

महिला क्रिकेटलाई प्रोत्साहन गर्न यो  घोषणा गरेको श्रेष्ठले बताएका छन्। उनले  महिला क्रिकेटको विकास र खेलाडीहरूको मेहनत तथा प्रतिभाको कदर गर्न निजी क्षेत्रबाट पनि योगदान आवश्यक रहेको बताए।

उनले महिला खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाइरहेको उल्लेख गर्दै यस्ता प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास बढाउने र अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। ‘महिला क्रिकेट आज विश्वस्तरमा तीव्र रूपमा अगाडि बढिरहेको छ। यस्तो अवस्थामा हामीले हाम्रा खेलाडीहरूलाई सम्मान र हौसला दिनु हाम्रो दायित्व हो,’ श्रेष्ठले भने।

यस किसिमको पुरस्कार घोषणाले महिला क्रिकेटमा सकारात्मक सन्देश जानेछ र भविष्यमा अन्य व्यवसायिक तथा सामाजिक संस्थाहरू पनि खेल क्षेत्रको समर्थनमा अघि बढ्ने अपेक्षा उनको छ।

आईसीसी महिला टि-२० विश्वकप क्वालिफायर माघ ४ गते देखि १८ गतेसम्म हुँदैछ। 

प्रकाशित: २८ पुस २०८२ ११:४१ सोमबार