इरानसँग इजरायल र अमेरिकाबीच भएको युद्धपछि मध्यपूर्वमा बढेको तनावका कारण नेपाली खेलकुदमा पनि असर परेको छ।
अर्को साता काठमाडौंमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला हुने तय थियो। उक्त शृंखलामा नेपालसहित ओमान र संयुक्त अरब इमिरेट्स (युएई) समावेश छन् तर मध्यपूर्वको युद्धले उक्त शृंखला अनिश्चित भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक विज्ञप्ती जारी गर्दै मध्यपूर्व क्षेत्रमा देखिएको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै शृंखला स्थगित गरेको जनाएको छ। ‘मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै काठमाडौंमा मार्च १० देखि तय गरिएको विश्वकप लिग–२ का खेलहरू थप सूचना नआएसम्मका लागि स्थगित गरिएका छन्,’उक्त विज्ञप्तिमा उल्लेख छ।
क्यानले आगामी दिनमा थप परामर्शपछि नयाँ मिति घोषणा गरिने जनाएको छ। इरानले अमेरिकी सेनाको क्याम्प रहेको भन्दै युएईमा पनि आक्रामण गरेको थियो। त्यसमा एक नेपालीले पनि ज्यान गुमाउनु परेको छ।
युद्धका कारण अहिले खाडी मुलुकमा हवाई मार्ग बन्द छ। त्यस कारण युएई र ओमानका टोली नेपाल आउनका लागि समस्या भएपछि शृंखला स्थगित भएको हो। आइसिसी विश्वकप लिग–२ मा कुल आठ टोली छन्। लिग–२ को अंकतालिकामा नेपाल २० खेलबाट १२ अंक सातौं स्थानमा छ।
प्रकाशित: २१ फाल्गुन २०८२ ०७:१५ बिहीबार