तीन पटकका ग्रान्डस्लाम विजेता स्विट्जरल्यान्डका स्टान वावरिन्काले व्यावसायिक टेनिस करिअर अन्त्य गरेका छन्। आफ्नो घरेलु प्रतियोगिता स्विस इन्डोर्स बासेलको पहिलो चरणमा मंगलबार चेक गणतन्त्रका जिरी लेहेकाासँग पराजित भएपछि ४१ वर्षीय वावरिन्काको खेलाडी जीवन समाप्त भएको हो।
आठौँ वरीयताका लेहेकााले वावरिन्कालाई ७-५, ७-६ (२) को सेटमा हराए। निर्णायक क्षणमा वावरिन्काको ब्याकह्यान्ड कोर्टबाहिर गएपछि उनको व्यावसायिक करिअरको अन्तिम प्रहार बनेको थियो। घरेलु दर्शकले उनलाई भावुक रूपमा बिदाइ गरेका थिए।
सन् २००२ मा व्यावसायिक टेनिसमा प्रवेश गरेका वावरिन्काले गत वर्ष डिसेम्बरमै सन् २०२६ आफ्नो अन्तिम सिजन हुने घोषणा गरेका थिए। यस सिजन उनले विभिन्न प्रतियोगितामा सम्मानपूर्ण बिदाइ पाउँदै आएका थिए।
वावरिन्काले आफ्नो करिअरमा तीन ग्रान्डस्लाम उपाधि जिते। उनले सन् २०१४ को अस्ट्रेलियन ओपनको फाइनलमा तत्कालीन विश्व नम्बर एक राफेल नाडाललाई हराएका थिए। सन् २०१५ को फ्रेन्च ओपन र सन् २०१६ को अमेरिकी ओपनको फाइनलमा तत्कालीन विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै उपाधि जितेका थिए।
सन् २०१४ मा विश्व वरीयताको तेस्रो स्थानसम्म पुगेका वावरिन्काले टुरस्तरका १६ उपाधि जितेका छन्। उनी स्विट्जरल्यान्डका अर्का महान् खेलाडी रोजर फेडेररसँग मिलेर सन् २००८ को बेइजिङ ओलम्पिकमा पुरुष डबल्सतर्फ स्वर्ण पदक जित्ने टोलीका सदस्य पनि थिए।
वावरिन्का र फेडेरर सम्मिलित स्विट्जरल्यान्डले सन् २०१४ मा पहिलो पटक डेभिस कपको उपाधि जितेको थियो। तीन ग्रान्डस्लाम उपाधि, ओलम्पिक स्वर्ण र डेभिस कप उपाधिसहित वावरिन्काले विश्व टेनिसमा आफ्नो विशिष्ट छाप छाडेका छन्।
प्रकाशित: ११ कार्तिक २०८३ ११:१२ बुधबार