साउन २४ देखि ताप्लेजुङको फुङलिङमा हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा आयोजकको प्रतिनिधित्व गरेको तेल्लोक स्पोर्टिङ क्लब अनुप सेन्दाङको नेतृत्वमा मैदानमा उत्रने भएको छ। दोस्रो ताप्लेजुङ गोल्डकपमा आयोजकको प्रतिनिधित्व गरेको सङ्घर्ष स्पोर्टिङ क्लब मैदानमा हुँदा पनि सेन्दाङ नै कप्तान थिए। तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले आफ्नो टोलीको लक्ष्य कम्तीमा फाइनलसम्म पुग्नु रहेको बताए।
‘हामी कम्तीमा फाइनलसम्म पुग्ने लक्ष्यमा छौँ,’ भट्टराईले भने, ‘फाइनलसम्मको लक्ष्य रहनु भनेको उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गर्नु पनि हो।’ इटहरी सुनसरीको द योङ ब्रदर्स क्लबसँग उद्घाटन खेल खेल्न लागेको तेल्लोक स्पोर्टिङ क्लबले दुई विदेशी सहित नेपाली फुटबलको राष्ट्रिय टोली र ए डिभिजन लिग खेलेका ६ अनुभवी खेलाडीलाई टिममा निश्चित गरेको छ। भट्टराईका अनुसार फोफना र स्यामुइल दुई विदेशी खेलाडी सहित योगेश गुरुङ, जीवन गुरुङ, रुपेश केसी र सन्देश श्रेष्ठ तेल्लोक स्पोर्टिङ क्लबको खेलाडी सेटमा हुनेछन्।
योगेश थ्री स्टारमा रक्षकको भूमिकामा हुन्छन्। रुपेश मनाङ मर्स्याङ्दीका अनुभवी मध्यपङ्क्तिको खेलाडी हुन्। सन्देश पनि अनुभवी खेलाडीमा गनिन्छन्। साउन ३१ गते सकिने खेलमा भारत सिलगुढीको एक सहित ८ टिम सहभागी हुँदैछन्। प्रतियोगिताका विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार पाउनेछन्। यसपटक खेल अवधिमा उत्कृष्ट हुने एक खेलाडीले यमाहा कम्पनीको मोटरसाइकल उपहार पाउनेछन्।
प्रकाशित: २० श्रावण २०८२ ११:१२ मंगलबार