जारी टी-२० विश्वकप अन्तर्गत सम्पन्न समूह 'बी' अन्तर्गतको खेलमा जिम्बाबेले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। यो सँगै जिम्बाबेले लगातार दोस्रो जित हात पारेको छ।
अष्ट्रेलियाको भने जारी विश्वकपमा यो पहिलो हार हो। शुक्रबार जिम्बाबेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्टेलियाले १९.३ ओभर अलआउट हुँदै १४६ रन मात्र बनायो।
अष्ट्रेलियाका लागि म्याथ्यू थॉमस रेनशाले अर्धशतकीय पारी खेले। उनी ६५ रन बनाउँदै आउट भए। त्यस्तै, ग्लेन म्याक्सवेल ३१ रन बनाएर पेभिलियन फर्किए।
जिम्बाबेका लागि ब्लेस्सिङ मुजराबानीले ४ विकेट लिए।
त्यसअघि, आर. प्रेमदासा स्टेडियमा टस हारेर ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएको थियो।
जिम्बाबेका ओपनर ब्रायन जोन बेनेट ६४ रन बनाउँदै नटआउट रहे। त्यस्तै, जिम्बाबेका सिकन्दर राजा पनि २५ रन बनाउँदै नटआउट रहे।
अष्ट्रेलियाका लागि मार्कस पिटर स्टोइनिसले एक विकेट लिए।
यसअघि जिम्बाबेले आफनो पहिलो खेलमा ओमानमाथि ८ विकेटको रोमान्चक जित हात पारेको थियो।
त्यस्तै, अष्ट्रेलियाले पनि आफ्नो पहिलो खेलमा आयरल्यान्डमाथि ६७ रनको जित हात पारेको हो।
प्रकाशित: १ फाल्गुन २०८२ १५:१२ शुक्रबार