खेल

टी-२० विश्वकप २०२६: नेपाल ‘ग्रुप सी’ मा, इंग्ल्यान्ड र वेस्ट इन्डिजसँग मुम्बईमा भिड्ने

सन् २०२६ मा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकपको समूह विभाजन सार्वजनिक भएको छ।

सार्वजनिक समीकरण अनुसार नेपाल ‘ग्रुप सी’ मा परेको छ। नेपाल रहेको समूह ‘सी’ मा पूर्व विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसहित अर्को टेस्ट राष्ट्र बङ्गलादेश रहेको छ।

त्यस्तै, युरोपेली राष्ट्र इटाली पनि नेपालकै समूहमा परेको छ।

सार्वजनिक खेल तालिका अनुसार नेपालले समूह चरणका आफ्ना चारवटै खेल भारतको मुम्बईमा खेल्नेछ। नेपालले आफ्नो विश्वकप अभियानको सुरुवात विश्व क्रिकेटको पावर हाउस इंग्ल्यान्डविरुद्ध खेल्दै गर्नेछ।

यस्तो छ नेपालको खेल तालिका:

पहिलो खेल: नेपाल विरुद्ध इंग्ल्यान्ड – फेब्रुअरी ८ (मुम्बई)

दोस्रो खेल: नेपाल विरुद्ध इटाली – फेब्रुअरी १२ (मुम्बई)

तेस्रो खेल: नेपाल विरुद्ध वेस्ट इन्डिज – फेब्रुअरी १५ (मुम्बई)

चौथो खेल: नेपाल विरुद्ध बङ्गलादेश – फेब्रुअरी १७ (मुम्बई)

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक भारतसहित चीर प्रतिद्वन्द्वी पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स रहेका छन्। समूह ‘बी’ मा अस्ट्रेलिया, आयोजक श्रीलङ्का, जिम्बाब्वे, आयरल्यान्ड र ओमान परेका छन्।

त्यसैगरी, समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, युएई र क्यानडा रहेका छन्।

प्रकाशित: ९ मंसिर २०८२ २०:४६ मंगलबार