खेल

सूर्य नेपाल गल्फ टुर : राहुलको सुरुआती अग्रता

डिफेन्डिङ च्याम्पियन राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२५–२६ को सूर्य नेपाल सेन्ट्रल ओपनमा सुरुआती अग्रता लिएका छन्।

यस सिजन (२०२५/०२६) हुने आठ वटा प्रतियोगितामध्ये सेन्ट्रल ओपन पहिलो प्रतिस्पर्धा हो। काठमाडौंको गोकर्ण गल्फ कोर्समा सुरु भएको प्रतियोगितामा सोमबार एमेच्योर गल्फर राहुलले पाँच स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायम गरेका हुन्।

उत्कृष्ट प्रदर्शन गर्दै राहुलले ६ अन्डर ६६ स्कोर गरे। उनले प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई पाँच स्ट्रोकले पछि पारेका हुन्। जयराम एक अन्डर ७१ को स्कोरमा रहे। अर्का एमेच्योर साम डौबलार्ड इभन पार ७२ सहित तेस्रो स्थानमा छन्। भुवनकुमार रोक्का, सविन सापकोटा, भुवन नगरकोटी, दिनेश प्रजापति, प्रदीपकुमार लामा र एमेच्योर फुन्सो नोर्बु लामाले संयुक्त रूपमा चौथो स्थान ओगटे।

यी ६ जना गल्फर एक ओभर ७३ को कार्डमा छन्। त्यस्तै बलभद्र राई, तोरणविक्रम शाही, दीपक मगर, टासी घले र एमेच्योर कवि थापा संयुक्त रूपमा दशौं स्थानमा छन्। उनीहरूले दुई ओभर ७४ को कार्डमा प्रतियोगिताको सुरुआत गरे। यस क्रममा टासीले होल इन वान (पाँचौँ होल) को सफलता प्राप्त गरे। नेपाल नम्बर एक प्रोफेसनल गल्फर नीरज तामाङले खराब प्रदर्शन गरे। उनले पाँच ओभर ७७ को प्रदर्शनसहित सिजनको सुरुआत गरेका छन्। पशुपति शर्माले स्वास्थ्यको कारण आठौँ होलपछि खेल त्यागे। ३६ होलपछि शीर्ष १८ प्रोफेसनल र एमेच्योर खेलाडीले कट बनाउनेछन्। अन्तिम दुई दिन (३६ होल) उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

७२ होलको प्रतियोगितामा ३७ प्रोफेसनल र २६ एमेच्योर गरी कुल ६३ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्। यस प्रतियोगिताको विजेताले एक लाख ७० हजार, उपविजेताले एक लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले एक लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। कट बनाउने शीर्ष १८ खेलाडीले नगद हात पार्नेछन्।

प्रकाशित: १५ पुस २०८२ ०८:४९ मंगलबार