खेल

सुमितको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

सुमित वर्माको आक्रामक अर्धशतक र तृत राज दासको साथमा मध्यक्रममा सम्हालिएको प्रदर्शनको मद्दतले पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन को योगफल तयार पार्‍यो।

जितका लागि जनकपुरले अब १५६ रन बनाउनुपर्नेछ।

पोखराको इनिङ्स उतारचढावपूर्ण रह्यो। ओपनर दिनेश खरेल र एडम रोसिङ्टनले पहिलो विकेटका लागि ६१ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई ठोस सुरुवात दिलाएका थिए।

तर, त्यसपछि पोखराले नाटकीय रूपमा विकेट गुमायो।

एडम रोसिङ्टन २४ रन बनाएर आउट भएलगत्तै आएका कप्तान कुशल भुर्तेल पहिलो बलमै (गोल्डेन डक) आउट भए। सेट भइसकेका दिनेश खरेल ३८ रन र स्टार खेलाडी जेम्स निसम १ रनमा पेभेलियन फर्किएपछि पोखरा ६१/० बाट ६४/४ को दयनीय स्थितिमा पुगेको थियो।

टोलीले ३ रनको अन्तरमा ४ विकेट गुमाएको थियो।

६४ रनमा ४ विकेट गुमेको अवस्थामा क्रिजमा आएका सुमित वर्मा र तृत राज दासले इनिङ्स सम्हाले। यी दुईबीच पाँचौँ विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी भयो।

सुमित वर्माले आक्रामक ब्याटिङ गर्दै २९ बलमा २ चौका र ४ छक्कासहित अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेले। उनलाई साथ दिएका तृत राज दासले २८ बलमा २९ रन बनाए। अन्त्यमा डान डाउटवेटले ७ रन र किरण ठगुन्नाले अविजित १ रन बनाए।

जनकपुर बोल्ट्सका लागि सञ्जय कृष्णमूर्ति सबैभन्दा सफल बलर बने। उनले पोखराको शीर्ष र मध्यक्रम ध्वस्त पार्ने क्रममा ४ ओभरमा २१ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए।

त्यस्तै, ललित राजवंशी र अनिल शाहले १–१ विकेट हात पारे।

प्रकाशित: ११ मंसिर २०८२ १७:२५ बिहीबार