खेल

किशोर र शेरको घातक बलिङसामु सुदूरपश्चिम निरीह, लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स अत्यन्त न्यून योगफलमा समेटिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएपछि साविक विजेता लुम्बिनी लायन्सले जितका लागि ८८ रनको सामान्य लक्ष्य पाएको हो।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा सर्वाधिक २७ रन तथा ओपनर सैफ जैबले १४ बलमा १३ रन जोड्नुबाहेक अन्य ब्याटर चल्न सकेनन्।

यसै खेलमार्फत सुदूरपश्चिमका विदेशी खेलाडी स्कट कुगेलेइन एनपीएलको इतिहासमै पहिलोपटक डीआरएस प्रणालीमार्फत आउट हुने खेलाडी बनेका छन्। उनी ९.४ ओभरमा शेर मल्लको बलमा एलबीडब्लू आउट भएका हुन्।

सुदूरपश्चिमको इनिङ्स ध्वस्त पार्न लुम्बिनीका तीव्र गतिका बलर किशोर महतोले घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए। यस्तै, शेर मल्लले ३ विकेट हात पारे भने कप्तान रोहितकुमार पौडेल, श्याडली भान शाल्क्विक र तिलक भण्डारीले १-१ विकेट लिए।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिता मंसिर ५ गतेसम्म चल्नेछ। प्रतियोगितामा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससहित विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज गरी आठ फ्रेन्चाइज टोलीहरूले लिग चरणमा प्रतिस्पर्धा गरिरहेका छन्।

यसपटक एनपीएलको तेस्रो संस्करणमा पुरस्कार राशिमा समेत उल्लेख्य वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले १ करोड ५० लाख र उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ पाउनेछन्। पहिलो र दोस्रो संस्करणका विजेताले १ करोड रुपैयाँ पाएका थिए।

यस संस्करणमा प्रायोजन, टिकट बिक्री र प्रसारण अधिकारबाट आम्दानी उल्लेख्य बढ्ने क्यानको अपेक्षा छ। क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार प्रतियोगिताबाट कुल १ अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ।

जसमा प्रायोजनबाट २० करोड तथा टिकट बिक्री र प्रसारणबाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने प्रक्षेपण गरिएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १८:३३ सोमबार