खेल

एसियाली खेलकुद: पदकविहीन हुनबाट जोगिनै धौधौ

खेलाडीका सपना र संघर्षको केन्द्र रहेको जापानको नागोया सहर आइतबार साँझबाट शान्त बन्दै छ। यही सहरका खेलमैदानमा ४५ देशका हजारौं खेलाडीले पदक जित्ने सपना देखे। केही सफल भए भने कसैका सपना अधुरै रह्यो।

अन्ततः १६ दिनसम्म चलेको एसिया महादेशको सबैभन्दा ठुलो खेल महोत्सव एसियाली खेलकुदको २०औं संस्करण सम्पन्न भएको छ। जहाँ १४ वर्षे पौडीबाजले तीन स्वर्ण जित्दै इतिहास रचिन्। उनीजस्तै अन्यले अपेक्षा पूरा गरे। कोही भने निराशाजनक नतिजा लिँदै स्वदेश फर्कदै छन्। नेपालका लागि पनि यो एसियाली खेलकुद त्यस्तै नीरस रह्यो।

नेपाली खेलाडीका प्रदर्शन आशातीत र अपेक्षाअनुरूप हुन सकेन। १९औं संस्करणलगत्तै नेपालले यसको तयारी थालेको थियो। मैदानमा भने त्यसअनुरूप देखाउन सकेन। एक स्वर्णसहित दुई अंकको पदक जित्ने लक्ष्य लिँदै नेपाल जापान आएको थियो। नतिजा भने फरक र निकै निराशाजनक बन्यो। देशको हातमा पर्‍यो मात्र दुई कांस्य।

झन्डै साढे दुई वर्ष गरेको नियमित प्रशिक्षणले सार्थकता पाउन सकेन। नेपाली खेलाडीमा पर्याप्त म्याच एक्सपोजरको कमी देखियो। उनीहरूको प्रदर्शन र प्राप्त नतिजाले देशको खेलकुद कति कमजोर छ भन्ने प्रस्ट्याउँछ।

नेपाल २१ खेलमा १३५ जना खेलाडीसहित एसियाली खेलकुदमा होमिएको थियो। तीमध्ये गल्फका सद्भाव आचार्य बिरामी भएपछि खेल्न पाएनन्। नेपाली कराते टोली र महिला कबड्डीबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन। यी दुईले दुई कांस्य जिते। जुन पछिल्ला संस्करणको तुलनामा खराब हो। गत संस्करण नेपालले एक रजत र एक कांस्य जितेको थियो। यसपल्ट झनै अपेक्षा ठुलो थियो त्यहीअनुरूप लामो तयारी पनि। तथापि नतिजा स्वाभाविक रहेन।  

त्यसैले नागोया यात्रा नेपालका लागि सहज भएन। स्वर्ण दाबेदार मानिएकी करातेकी एरिका गुरुङ नै पदकविहीन हुन पुगिन्। आशा गरिएका बक्सर चन्द्रबहादुर थापाले त पहिलो राउन्ड नै पार गर्न सकेनन्। उनीजस्तै अधिकांश खेलाडीको यात्रा पहिलो चरणमै समाप्त भयो। खेलमा अपेक्षा र नतिजाबिचको दूरी कति कठिन हुन्छ भन्ने यो एउटा अर्को उदाहरण बनेको छ। साथै लगानी कति अपर्याप्त छ भन्ने पनि प्रस्ट पारेको छ।

एक समय सफल खेल दिनप्रति आरालो लाग्नु अर्को चिन्ता बनेको छ। एसियाली खेलकुदमा कबड्डी र करातेसँगै बक्सिङ, पाराग्लाइडिङ र तेक्वान्दोले नेपाललाई पदक दिलाएको इतिहास छ। तीमध्ये पाराग्लाइडिङ खेल समावेश थिएन।

एक समय नेपाली खेलकुदकै सबैभन्दा सफल तेक्वान्दो र बक्सिङको प्रदर्शन बिर्सनलायक रह्यो। तेक्वान्दो पुम्सेमा पुछारमा रह्यो भने फाइटमा एक खेल पनि जितेन। बक्सिङमा पनि उस्तै रह्यो। बक्सर खगेन्द्र रोक्का मगरले एक बाउट जिते। अन्य भने पहिलो खेलमै पराजित हुन पुगे। केही नयाँ अनुहारले भविष्यको आशा जगाउने प्रदर्शन देखाए। तीमध्ये करातेका तेन्जिङ शेर्पा हुन्। लगानी बढाउन सके महिला कबड्डी टोलीले पनि सम्भावना देखाएको छ। यी नतिजापछि नेपालले नागोया एसियाड ३७औं स्थानमा टुङ्ग्याएको छ। पदकतालिका हेर्दा प्रदर्शन उत्साहजनक छैन। नागोयामा नेपाली करातेका पाँच खेलाडी पदकनजिक पुगे। तीमध्ये एरिकासँगै चार जना चुके।

तेन्जिङको उदयले भने नेपाली करातेमा अर्को पुस्ता तयार हुँदै गरेको संकेत दिएको छ। नेपालले लगातार दोस्रोपल्ट कांस्य उत्साह थपे। १९औं एसियाडमा पनि नेपालले यही स्पर्धामा कांस्य जितेको थियो। यो अर्को पदक मात्र होइन। नेपाली महिला कबड्डीमा सम्भावनाको प्रमाण पनि हो। सेप्टेम्बर १९ देखि सुरु आइची/नागोया एसियाली खेलकुद नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा समापन भयो। जहाँ भावनात्मक एकता, मित्रता र खेलमार्फत सम्बन्ध बिस्तारले प्राथमिकता पायो। नेपाली खेलकुद भने सदैव आन्तरिक कलहमा रुमलिँदै छ। त्यसको असर खेलमा पनि परेको छ। पदक दाबेदार खेलाडीको निराशाजनक प्रदर्शन, पहिलो चरणमै हार र अहिलेसम्म स्वर्ण जित्न नसक्नुले नेपाली खेलकुदको तयारी प्रणालीमाथि प्रश्न उठेको छ।

लामो संस्करणदेखि एसियाली खेलकुद खेल्दै आएका पौडी, तेक्वान्दो, एथलेटिक्स, आर्चरी, जुडो, कुस्ती, ब्याडमिन्टन, टेनिस, बक्सिङ र टेबल टेनिसलगायतका खेलमा नेपालको बिर्सनलायक प्रदर्शन रह्यो। पहिलो चरण पार नगर्ने, हारको अन्तर लज्जास्पद, धेरैमा शून्य अंक र पहिलो राउन्डमा पनि नटिक्नुले धेरै प्रश्नहरू सिर्जना भएका छन्। यी नतिजाले एउटा पुरानै प्रश्न फेरि उठाएको छ।

 नेपालले एसियाली स्तरमा पदक जित्न सक्ने खेलाडी उत्पादन गर्न किन सकिरहेको छैन? त्यसैले यी खेलको अबको सहभागिताबारे सोच्नुपर्नेछ। कि लगानी बढाएर नयाँ ढंगले तयारी थाल्नुको विकल्प छैन। अब नेपालसँग अर्को चार वर्षको समय छ। एरिकाजस्ता स्थापित खेलाडीलाई पुनः शीर्ष स्तरमा फर्काउन सक्नुपर्छ।

तेन्जिङजस्ता नयाँ प्रतिभालाई अन्तर्राष्ट्रिय अनुभव दिने र नेपाली महिला कबड्डीको पदकको रंग परिवर्तन गर्न चुनौती नेपालसामु छ। नागोयाले एउटा कुरा स्पष्ट पारेको छ। प्रतिभालाई एसियाली स्तरको पदकमा रूपान्तरण गर्न दीर्घकालीन योजना, वैज्ञानिक प्रशिक्षण, अन्तर्राष्ट्रिय एक्सपोजर र निरन्तर लगानी आवश्यक देखिन्छ।

नेपालको झन्डा दुई कांस्यसहित फर्किंदै छ तर यी दुई पदकसँगै एउटा ठूलो प्रश्न पनि नेपाल फर्किंदै छ। के नेपालले अब मिनी ओलम्पिकको रूपमा रहेको एसियाली खेलकुदमा स्वर्ण जित्न कठिन बनेको हो ? प्रश्न सहज छ। नेपालका लागि पदकविहीन हुनबाट जोगिन नै धौधौ भइरहेको छ। चार वर्षपछि दोहामा नेपालले यही कथा दोहोर्‍याउन सक्छ?

दक्षिण एसियामा चौथो नेपाल

दक्षिण एसियाली राष्ट्रबिचको पदक तालिकामा नेपाल चौथो स्थानमा रह्यो। छिमेकी राष्ट्र भारत यस क्षेत्रको शीर्ष टोली बन्यो। समग्र भने भारत एसियाली खेलकुदमै चौथो स्थानमा रह्यो। यसले २१ स्वर्ण, २७ रजत र २७ कांस्य पदक जित्यो। चीन, जापान र दक्षिण कोरियापछि भारत समग्रमा चौथो स्थानमा रह्यो। दक्षिण एसियामा श्रीलंका दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहे। श्रीलंकाले समान एक स्वर्ण, रजत र कांस्यसहित तीन पदक जित्न सफल भयो। श्रीलंकाले एउटा स्वर्ण एथलेटिक्समा जित्यो। पाकिस्तानले दुई रजत र आठ कांस्य गरी कुल १० पदक जित्यो। दक्षिण एसियाबाट पदक जित्ने अर्को टोली हो बंगलादेश। उसले एक मात्र पदक उसुमा जितेको हो।

नेपाल दुई कांस्यसहित चौथो स्थानमा रह्यो। दक्षिण एसियाबाट भारत र श्रीलंका मात्र स्वर्ण जित्न सफल रहे। ४५ देश तथा क्षेत्र सहभागी प्रतियोगितामा सबैले पदक जित्न सकेनन्। भुटान, माल्दिभ्स, प्यालेस्टाइन, टिमोर लेस्टे र यमन पदकविहीन रहे। यीमध्ये दुई राष्ट्र दक्षिण एसियाकै हुन्।

यो तथ्यले दक्षिण एसियाली खेलकुदमै ठूलो अन्तर देखाउँछ। केही राष्ट्रका लागि सहभागिता नै ठूलो उपलब्धि बन्यो। नेपालजस्ता राष्ट्रका सहभागितालाई पदकमा रूपान्तरण गर्ने चरण अझै चुनौतीपूर्ण छ। दुई कांस्यले पदक तालिकामा नेपालको स्थान बचाएको छ। तर नेपालका लागि नागोया न पूर्ण असफलता हो, न सफलताको उत्सव नै बन्यो। 

प्रकाशित: १९ आश्विन २०८३ ०७:१४ सोमबार