खेल

भारतविरुद्धको टेस्ट शृंखला बचाउन संघर्ष गर्दै श्रीलंका

भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेट बचाउन श्रीलंका संघर्षरत छ। घरेलु मैदान कोलम्बोमा तेस्रो दिनको खेलको समाप्तिमा श्रीलंकाले ८ विकेट गुमाएर २६५ रन बनाएको छ। श्रीलंका अझै २३८ रनले पछि छ र ऊसँग २ विकेट मात्रै बाँकी छ।  

सुरुवातबाटै कमजोर ब्याटिङ गरेको श्रीलंकाले ३५ रन बनाउँदा आफ्नो ३ विकेट गुमाएको थियो। कामिल मिसारा १९, प्रभात जयसूर्या २ र लाहिरु उदारा एक रनमा आउट भए। रविन्द्र जडेजाको बलमा बोल्ड हुनु अघि पसिन्दु सुर्याबन्दराले ८०  रन बनाए। सोनाल दिनुसा ८५ रनमा नटआउट हुँदा कामिन्दु मेन्डिसले ३२ रन बनाए। अन्यले दोहोरो अंक छुन सकेनन्।  

श्रीलंकाको इनिङ्स ध्वस्त बनाउन प्रशिद्ध कृष्णा र मानभ सुथारले समान ३ तथा मोहमद सिराज र रविन्द्र जडेजाले समान एक विकेट लिए।  

यसअघि पहिला ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा ५०३ रनमा इनिङ्स डिक्लियर गरेको थियो। भ्रमणकारी टोलीका लागि देवदत्त पाडिकलले ११७ र ध्रुव जुरेल ११५ रनमा नटआउट रहे। रिसब पन्त ६३ र क्याप्टेन सुभमन गिल ५० रनमा आउट हुँदा यशस्वी जैसवालले ४५ र रविन्द्र जडेजाले ४३ रन जोडे।  

श्रीलंकाका लागि आशिथा फर्नान्डोले ४ तथा प्रभात जयसूर्या र केशारा नुवान्थाले समान २ विकेट लिए।  

२ म्याचको सिरिजको पहिलो खेलमा भारत १६५ रनले विजयी भएको थियो। 

प्रकाशित: ९ भाद्र २०८३ १९:३९ मंगलबार