बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री थापा मगरले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गरेका हुन्। 'खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र विश्वमञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम हो,' उनले भनेका छन्।
मुख्यमन्त्री थापा मगरले खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने राजनीतिक सोचलाई एनपीएलले थप बलियो बनाउने विश्वास व्यक्त गरे। उनले एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बन्ने अपेक्षा पनि गरेका छन्।
'खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने हाम्रो राजनीतिक सोचलाई थप बलियो बनाउँदै एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बनोस्,' उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, आयोजक, नेपाल क्रिकेट संघ (क्यान), कमेन्टेटर तथा क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरे।
नेपाली क्रिकेटको विकास, युवा खेलाडीको प्रतिभा प्रस्फुटन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न एनपीएलले योगदान पुर्याउने अपेक्षा उनको शुभकामना सन्देशमा व्यक्त गरिएको छ।
प्रकाशित: ९ कार्तिक २०८३ १४:०२ सोमबार