खेल

स्पेनको विश्वकप टोली घोषणा: रियल म्याड्रिडबाट शून्य, बार्साको बर्चश्व

स्पेनले आगामी विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा चोटग्रस्त युवा फरवार्ड लामिन यामाललाई पनि स्थान दिइएको छ. तर पहिलो पटक टोलीमा रियल मड्रियका कुनै पनि खेलाडी समावेश भएका छैनन्।

१८ वर्षीय लामिन यामाल अप्रिल २२ मा बार्सिलोनाका लागि खेल्ने क्रममा बायाँ ह्यामस्ट्रिङमा चोट लागेपछि सिजनको अन्तिम चरणबाट बाहिरिएका थिए। चोटका बाबजुद प्रशिक्षकले उनलाई राष्ट्रिय टोलीमा समावेश गरेका हुन्।  

स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले टोली छनोटमा क्लबभन्दा खेलाडीको प्रदर्शनलाई प्राथमिकता दिएको बताए। उनले भने, “म कुनै क्लबलाई हेरेर निर्णय गर्दिनँ। मेरो ध्यान राष्ट्रिय टोलीका लागि योग्य खेलाडी छनोटमा हुन्छ।”

यस सिजन रियल म्याड्रिडले कुनै उपाधि जित्न सकेन र ला लीगा विजेता बार्सिलोनाभन्दा आठ अंकले पछाडि रह्यो। टोलीका डिफेन्डर डिन हुइसेन र डानी कार्भाजाललाई टोलीमा स्थान दिइएको छैन।

ह्यामस्ट्रिङ समस्याबाट गुज्रिरहेका निको विलियम्स पनि टोलीमा परेका छन्। प्रशिक्षक लुइस डे ला फुएन्टेका अनुसार कुनै नयाँ समस्या नआए सबै खेलाडी पहिलो खेलदेखि उपलब्ध हुनेछन्।

जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुने विश्वकपमा स्पेनले समूह ‘एच’ मा जुन १५ मा केप भर्डेसँग, जुन २१ मा साउदी अरेबियासँग र जुन २६ मा उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

टोलीमा सात जना प्रिमियर लिग खेलाडी पनि समावेश छन्, जसमा रोड्री, मिकेल मेरिनो र डेभिड राया प्रमुख छन्।

स्पेनको विश्वकप टोली

गोलरक्षक: उनाइ सिमोन (एथलेटिक बिल्बाओ), डेभिड राया (आर्सनल), जोआन गार्सिया (बार्सिलोना)

डिफेन्डर: मार्कोस लोरेन्ते (एट्लेटिको म्याड्रिड), मार्क पुबिल (एट्लेटिको म्याड्रिड), पेड्रो पोरो (टोटेनहम), एमेरिक लापोर्टे (एथलेटिक बिल्बाओ), एरिक गार्सिया (बार्सिलोना), पाउ कुबार्सी (बार्सिलोना), मार्क कुकुरेला (चेल्सी), आलेहान्द्रो ग्रिमाल्डो (बायर लेभरकुसेन)

मिडफिल्डर: रोड्री (म्यानचेस्टर सिटी), मार्टिन जुबिमेन्डी (आर्सनल), मिकेल मेरिनो (आर्सनल), पेड्री (बार्सिलोना), गाभी (बार्सिलोना), फाबियन रुइज (पेरिस सेन्ट-जर्मेन), एलेक्स बाएना (एट्लेटिको म्याड्रिड)

फरवार्ड: येरेमी पिनो (क्रिस्टल प्यालेस), भिक्टर मुनोज (ओसासुना), मिकेल ओयार्जाबाल (रियल सोसिडाड), फेरान टोरेस (बार्सिलोना), लामिन यामाल (बार्सिलोना), डानी ओल्मो (बार्सिलोना), निको विलियम्स (एथलेटिक बिल्बाओ), बोर्जा इग्लेसियास (सेल्टा भिगो)

प्रकाशित: ११ जेष्ठ २०८३ १९:४८ सोमबार