खेल

दक्षिण कोरियाली कप्तानले मागे माफी

दक्षिण कोरियाली फुटबल टोलीका कप्तान ली गी ह्युकले अनिवार्य सैन्य सेवाबाट उम्किएको भन्दै खुसीयाली मनाएकोमा माफी मागेका छन्।

जापानमा सम्पन्न २०औं एसियाली खेलकुदमा स्वर्ण पदक जितेपछि दक्षिण कोरियाका कप्तान ली गीले सैन्य सेवाबाट उम्किएको प्रतिक्रिया दिँदै खुसी मनाएका थिए। त्यसपछि उनको भनाइप्रति व्यापक आलोचना भयो। आयोजक जापानलाई १–० ले हराउँदै दक्षिण कोरियाले फुटबलमा स्वर्ण जितेको थियो। जितपछि लीले आफ्नो स्वर्ण पदक देखाउँदै उत्साही हुँदै आफू अब सैन्य सेवामा जानु नपर्ने घोषणा गरेका थिए। त्यस भनाइप्रति पछि २६ वर्षे ली गीले माफी मागे। ‘हाल आफ्नो सैन्य कर्तव्य पूरा गरिरहेका प्रशंसकहरू र हामीलाई साँचो मनले समर्थन गर्ने सबै जनासँग म माफी चाहन्छु,’ उनले भने।

दक्षिण कोरियाली पुरुषहरूले सामान्यतया २८ वर्षको उमेरअघि १८ देखि २१ महिनासम्म अनिवार्य सक्रिय सैन्य सेवा गर्नुपर्ने नियम छ।

तथापि सरकारले एसियाली खेलकुदका स्वर्ण विजेता र ओलम्पिकमा कुनै पनि पदक जित्ने खेलाडीहरूलाई एक महिनाभन्दा कम अवधिको आधारभूत तालिमबाहेक बाँकी सैन्य सेवाबाट छुट दिने गर्दछ। गल्फर टम किमले पनि एसियाली खेलकुदमा स्वर्ण पदक जितेर सैन्य सेवाबाट छुट पाएका थिए।

 यसअघि यो छुट पाउने खेलाडीहरूमा इङ्लिस क्लब टोटनहमका पूर्वफुटबलर सन ह्युङ मिन पनि छन्। दुई वर्षअघि देशका लागि एसियाली खेलकुद जितेपछि उनले तीन हप्ता मात्र सैन्य सेवामा बिताएका थिए। ‘एक युवाको नाताले मैले बोल्नुअघि गम्भीरतापूर्वक सोच्नुपर्थ्याे,’ दक्षिण कोरियाको के लिग टोली ग्याङवोन एफसीका ली गीले भने। उनी दक्षिण कोरिया यु–२३ टोलीका सदस्य पनि हुन्।

‘मैले यति लापरबाहीपूर्वक बोलेकोमा मलाई ठूलो पछुतो छ। म आफ्ना कामहरूको निरन्तर समीक्षा गर्नेछु,’ उनले भने,‘हामीलाई पूर्ण रूपमा समर्थन गर्ने र आफ्नो सैन्य कर्तव्य पूरा गर्न हरसम्भव प्रयास गरिरहेका सबै प्रशंसकहरूसँग म हृदयदेखि नै माफी माग्दछु।’

दक्षिण कोरियाले एसियाली खेलकुदको फुटबलमा लगातार चौथोपल्ट स्वर्ण जितेको थियो। कोरियाको पुरुष फुटबलमा यो समग्रको सातौं ट्रफी पनि हो। एसियन गेम्समा यु–२३ उमेरसमूहको टोली खेलाउन पाउने प्रावधान छ तर आगामी सन् २०२८ को एलए ओलम्पिकका लागि लक्षित गर्दै जापानले यु–२१ उमेरसमूहका फुटबल टोली खेलाए पनि फाइनलसम्म यात्रा तय गर्‍यो। कोरियाको भने यु–२३ फुटबल टोली थियो।  

प्रकाशित: २१ आश्विन २०८३ ०९:४७ बुधबार