आइतबार दक्षिण अफ्रिकी क्रिकेट टोलीले अप्रत्यासित हार बेहोर्यो। एकदिवसीय शृंखला जिते पनि उसले इङ्ग्ल्याण्डबाट एकदिवसीय क्रिकेट इतिहासकै ठूलो हार भोग्नुपर्यो।
साउथह्याम्प्टनमा ४१४ रनको लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिका ७२ रनमै समेटियो। यो एकदिवसीय क्रिकेटको ५४ वर्षे इतिहासमा कुनै टोलीको यो सबैभन्दा ठूलो हार हो।
सात अफ्रिकी ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्, र केवल चार जना दोहोरो अंकमा पुगे। कोर्बिन बोशले सर्वाधिक २० रन बनाए।
इङ्ग्ल्याण्डका लागि जो रुट (१००) र ज्याकब बेथेल (११०) ले शतक बनाए। जेमी स्मिथ (६२) र जोस बटलर (६२) ले अर्धशतक प्रहार गरे।
दक्षिण अफ्रिकाका प्रशिक्षक शुक्री कोनराडले हारलाई ‘लज्जास्पद’ भने। कप्तान टेम्बा बाभुमाले भने, ‘यो प्रदर्शनले हाम्रो हालैको एकदिवसीय सफलतालाई न्याय गर्दैन।’
चोटका कारण कप्तान टेम्बा बाभुमा ब्याटिङ गर्न आएनन्।
पछिल्लो एक महिनामा दक्षिण अफ्रिकाले अष्ट्रेलिया र इङ्ग्ल्याण्डलाई २–१ ले हराएको थियो। सन् १९९८ पछि पहिलो पटक इङ्ग्ल्याण्डमा शृंखला जितेको थियो। एजेन्सी
प्रकाशित: २३ भाद्र २०८२ ०९:१७ सोमबार