खेल

सोमपालले एकै ओभरमा लिए २ महत्वपूर्ण विकेट

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी खेलमा तीव्र गतिका बलर सोमपाल कामीले सानदार पुनरागमन गरेका छन्।

खेलको १६औँ ओभरमा सोमपालले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिँदै आक्रामक ब्याटिङ गरिरहेको स्कटल्याण्डलाई झट्का दिएका हुन्।

१५.२ ओभरमा सोमपालले स्कटल्याण्डका लागि सर्वाधिक ७१ रन बनाएका ब्याटर माइकल जोन्सलाई क्लिन बोल्ड गरे। जोन्सले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै नेपालका लागि ठूलो चुनौती बनिरहेका थिए।

उनी आउट भएसँगै ५२ रनको दोस्रो विकेटको साझेदारी समेत तोडिएको छ।

सोही ओभरको चौथो बलमा सोमपालले अर्का ब्याटर ब्रान्डन म्याकमुलनलाई आफ्नै बलिङमा उत्कृष्ट क्याच लिँदै पभिलियनको बाटो देखाए।

म्याकमुलनले १९ बलमा २५ रन बनाएका थिए। सोमपालले २ बलको अन्तरालमा २ विकेट लिएपछि स्कटल्याण्ड एकाएक दबाबमा परेको छ।

प्रकाशित: ५ फाल्गुन २०८२ २०:२९ मंगलबार