क्रिकेटमा बिरलै यस्ता खेल हुन्छन्, जहाँ एउटै खेलाडीले बलिङ, ब्याटिङ र कप्तानी- तीनवटै मोर्चामा जादु चलाएर सिङ्गो खेलको भाग्य बदलिदिन्छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार त्रिवि मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले ठ्याक्कै त्यस्तै ‘सुपरम्यान’ अवतार देखाए।
पहिले घातक बलिङ गर्दै ४ विकेट लिएका सोमपालले पछि ५७ रनमै ५ विकेट गुमेर हारको मुखमा पुगेको टोलीलाई ३२ बलमा अविजित ६२ रन ठोक्दै १ बल बाँकी छँदा ४ विकेटको ऐतिहासिक जित दिलाए।
विराटनगरले दिएको १८७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णालीको आधा टिम ६.५ ओभरमै पेभेलियन फर्किसकेको थियो। तर, त्यसपछि मैदानमा सुरु भयो कप्तान सोमपालको एकल ताण्डव।
क्रिजमा उत्रिएका सोमपालले पहिले पवन सर्राफ (३६ रन) सँग छैटौं विकेटका लागि ६६ रन जोडे। पवन आउट भएपछि उनले युवा अलराउन्डर गुलशन झा (अविजित २८ रन) सँग मिलेर सातौं विकेटका लागि मात्र ३५ बलमा अविजित ६४ रनको विष्फोटक साझेदारी गरे।
सोमपालले मात्र २७ बलमै अर्धशतक पूरा गर्दै ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेर टोलीलाई १९.५ ओभरमा जितको रेखा पार गराए।
ब्याटिङमा हिरो बन्नुअघि विराटनगरको विशाल योगफल रोक्न सोमपालले बलिङमा पनि उत्कृष्ट स्पेल फ्याँकेका थिए। उनले ४ ओभरमा ३३ रन खर्चेर विराटनगरका ४ मुख्य ब्याटरलाई सिकार बनाए।
विष्फोटक ब्याटिङ गर्दै शतक नजिक पुगेका लोकेश बम (८७ रन) लाई आफ्नै बलमा क्याच लिएर रोकेका सोमपालले चरिथ असालंका (३ रन), एन्जेलो म्याथ्युज (३१ रन) र खतरनाक आन्द्रे रसेल (२७ रन) को महत्त्वपूर्ण विकेट उडाएका थिए।
लोकेश बमले ९ छक्का प्रहार गर्दै ८७ रन बनाउँदा खेल विराटनगरकै पक्षमा ढल्किएको मानिएको थियो। तर अन्ततः सोमपालको अलराउन्ड आँधीसामु लोकेशको त्यो विष्फोटक इनिङ्स पनि फिका साबित भयो।
अघिल्लो खेलमा जनकपुरलाई हराएको कर्णालीले यो रोमाञ्चक जितसँगै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। यता लगातार दोस्रो हारसँगै विराटनगरका लागि प्रतियोगिताको यात्रा थप कठिन बनेको छ।
प्रकाशित: १२ कार्तिक २०८३ २०:५३ बिहीबार