खेल

च्याम्पियन्स लिगका खेलअघि नेपालप्रति ऐक्यबद्धता जनाइने

युरोपेली फुटबलको सर्वोच्च क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगका यस साताका सबै खेलअघि नेपालप्रति ऐक्यबद्धता जनाइने भएको छ।

यूईएफएका अनुसार खेल सुरु हुनुअघि एक मिनेट मौनधारण गरिनेछ भने रंगशालामा ‘नेपाल, तिमी एक्लो छैनौ’ भन्ने सन्देशसहितको ब्यानर प्रदर्शन गरिनेछ।

नेपालमा भएको पछिल्लो विपत्तिप्रति दुःख व्यक्त गर्दै यूईएफएका अध्यक्ष अलेक्जान्डर चेफेरिनले युरोपेली फुटबल परिवारले नेपाली जनताप्रति समर्थन जनाउने बताएका छन्।

उनले भने, ‘यस साताका खेलअघि सम्पूर्ण युरोपेली फुटबल परिवार नेपालप्रति गहिरो समवेदना र समर्थन व्यक्त गर्न एकजुट हुनेछ। यो दुःखद् घटनाबाट पुनःउत्थानको क्रममा नेपाली जनताले बल र धैर्य प्राप्त गरून् भन्ने हाम्रो कामना छ।’

यूईएफएको यो पहलमार्फत नेपालमा भएको विपत्तिप्रति अन्तर्राष्ट्रिय फुटबल समुदायको साथ र ऐक्यबद्धता प्रस्तुत गर्न खोजिएको हो।

प्रकाशित: २३ भाद्र २०८३ ११:२५ मंगलबार