खेल

सहमतिमा परिस्थिति सामान्य बनाउनुपर्छ : एमाले नेता अधिकारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सबैको सहमतिमा वर्तमान विषम परिस्थितिलाई सामान्य बनाउनुपर्ने बताएका छन्।  

उनले संविधानको संशोधन गरी नव पुस्तालाई सामेल गरेर सर्वपक्षीय विश्वासिलो सरकार बनाएर तोकिएकै मितिमा निर्वाचन गर्न सकिने बताउनुभयो। आज भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै अधिकारीले संसद् पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए।

सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्नुपर्ने नव पुस्ताको मागलाई विश्वासिलो आयोग बनाएर पूरा गर्न सकिने बताए। 'सबैको सहमतिमा यो विषम परिस्थितिलाई सामान्य बनाउँदै भयरहित वातावरणमा निर्वाचन निष्पक्ष बनाउने कुरामा ‘अर्ली इलेक्सन’ को पक्षमा छौँ, अहिलेको निकास यही हो,' उनले भने।

अधिकारीले नेकपा (एमाले) को ११औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व निर्माण गर्ने विश्वास व्यक्त गरे। उनले सबैको आकाङ्क्षा र इच्छाहरू सम्बोधन गर्ने र उपयुक्त वातावरणमा सही ढङ्गले सबैलाई ‘सरप्राइज’ दिने गरी महाधिवेशन सम्पन्न हुने उल्लेख गरे।

प्रकाशित: २ मंसिर २०८२ १४:०० मंगलबार