खेल

सरकारबाट सुरक्षा ग्यारेन्टी पाए बंगलादेश फर्किएर मुद्दा सामना गर्न तयार शाकिब

बंगलादेशका स्टार क्रिकेटर शाकिब अल हसनले सरकारले आफ्नो सुरक्षाको ग्यारेन्टी गरे बंगलादेश फर्किएर आफूविरुद्धका मुद्दा सामना गर्न तयार रहेको बताएका छन्।

सन् २०२४ को मेदेखि बंगलादेश नफर्किएका शाकिब अहिले श्रीलंकामा जारी लंका प्रिमियर लिगमा जाफ्ना किङ्सबाट खेलिरहेका छन्। सन् २०२४ मा बंगलादेशमा भएको आन्दोलनका क्रममा एक जनाको हत्यासँग जोडिएको घटनामा शाकिबसहित १४७ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

आफूले कुनै गल्ती नगरेको दाबी गर्दै शाकिबले आफूविरुद्धको मुद्दालाई हास्यास्पद भनेका छन्। ‘सरकारले मेरो सुरक्षाको सुनिश्चितता गर्ने स्पष्ट अनुमति दिए म फर्किएर अदालतको सुनुवाइ तथा आवश्यक सबै कानुनी प्रक्रिया सामना गर्न तयार छु,’ शाकिबले भनेका छन्।

शाकिब सन् २०२४ को आमनिर्वाचनमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको अवामी लिगबाट सांसद बनेका थिए। निर्वाचनपछि उनी विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेल्न विदेश गएका थिए। यसैबीच, शेख हसिनासँगै हालै एउटा पत्रकार सम्मेलनमा सहभागी भएपछि शाकिबको बंगलादेशमा चर्को आलोचना भएको थियो। त्यसपछि उनको गृहजिल्ला मागुरास्थित घरमा समेत आक्रमण भएको थियो।

बंगलादेशका खेलकुदमन्त्री अमिनुल हकले यसअघि शाकिबप्रति सरकारको दृष्टिकोण लचिलो रहेको बताएका थिए। तर हसिनासँगको सार्वजनिक उपस्थितिपछि सरकारको धारणा परिवर्तन भएको उनले बताएका छन्। ‘हामी शाकिब क्रिकेटर भएकाले धेरै लचिलो र सहनशील भएर हेरिरहेका थियौं। तर अब त्यस्तो सोच्ने ठाउँ छैन।

उनी बंगलादेश फर्किन चाहन्छन् भने कानुनी बाटोबाटै आउनुपर्छ,’ हकले भने। शाकिबले भने हसिनासँगको पत्रकार सम्मेलनमा सहभागी हुनु आफूले आदेश पालना गरेको बताएका छन्। ‘कप्तानले जे भन्नुहुन्छ, हामी त्यही पछ्याउँछौं,’ उनले भनेका छन्। हसिनाविरुद्ध बंगलादेशमा भएको आन्दोलनमाथिको दमनका क्रममा करिब १ हजार ४०० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

हसिनालाई बंगलादेशको अदालतले उनको अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइसकेको छ। यसअघि शाकिबले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिनुअघि घरेलु मैदानमा अन्तिम शृंखला खेल्ने इच्छा व्यक्त गरेका थिए। उनले आफू अझै क्रिकेटको आनन्द लिइरहेको र राम्रो खेलिरहेको भए पनि उमेरका कारण धेरै समय पर्खिन नसक्ने बताएका छन्। ‘म अझै खेलको आनन्द लिइरहेको छु र राम्रो पनि खेलिरहेको छु। तर अहिले उमेर मेरो पक्षमा छैन। त्यसैले धेरै समय पर्खिन सक्दिनँ,’ शाकिबले भने।

प्रकाशित: २३ श्रावण २०८३ ०८:१६ शनिबार