संयुक्त अरब इमिरेट्स (युएई) को भिसा नआएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गर्ने यात्रा रोकिएको छ ।
दुईपटकको विश्व च्याम्पियन वेस्ट इन्डिजसँग तीन खेलको टी-२० शृंखला खेल्न नेपाली टोली शुक्रबार बिहान युएई जाने कार्यक्रम थियो । तर, युएईले भिसा नदिएपछि नेपालको यात्रा प्रभावित भएको छ । आइसिसी टी-२० विश्वकप छनोटको तयारीका लागि नेपाली टोली युएई जान लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले भिसा नआएपछि आज बिहान नेपाली टोलीको युएई जाने उडान हुन नसकेको बताए । ‘नेपाली टोली आज बिहानै युएई जाने कार्यक्रम हो । त्यहीअनुरूप टिकट पनि थियो । तर, भिसा आएन । भिसा आएपछि उहाँहरू जानु हुनेछ । केही दिन समय लाग्छ सक्छ । सम्भवत् सोमबारसम्म जानु हुन्छ होला,’प्रवक्ता छुम्बीले भने ।
उनले भिसा अनुमतिको लागि प्रक्रिया पनि अगाडि बढेको उल्लेख गरेका छन् । युएई सरकारले नेपालीको भिसा अनुमतिमा कडाई गरेपछि नेपाली क्रिकेट टोलीको विश्वकप तयारी केही समय पछि धकेलिने भएको छ । युएई सरकारले के कारण र कहिलेसम्म भिसा अनुमतिमा कडाई गर्ने बारे आधिकारिक सूचना भने जारी गरेको छैन ।
यद्यपि, युएईले भिसामा कडाई गरेको कारणबारे नेपालका सञ्चारमाध्यम फरकफरक समाचार आएका छन् । जेन-जीको आन्दोलनपछि कैदी फरार भएकाले र कतारमा हमलापछि सुरक्षा सुरक्षा चुनौती हुन सक्ने जस्ता कारणले भिसामा कडाई गरिएको तथ्यहरू आइरहेका छन् । यसअघि बंगलादेश भएको आन्दोलनपछि शेख हसिनाको सरकारले ढल्दा पनि युएईले त्यहाँ भिसा अनुमति रोकेको थियो ।
त्यसैले पनि नेपाली क्रिकेट टोलीले आफ्नै देश भिसा काउन्सलरबाट अनुमति पाउने सम्भावना न्युन छ । जेन-जीको आन्दोलनका क्रममा १५ हजारभन्दा बढी कैदी जेलबाट फरार भएका थिए । अझै पनि आठ हजारभन्दा बढी कैदी फरार छन् । यसकै कारण युएई सरकारले सुरक्षा चुनौती देखेपछि नेपालको सबैखाले भिसा अनुमतिमा कडाई गरेको बुझिएको छ । युएईमा नेपालले आगामी सेप्टेम्बर २७, २९ र ३० तारिखमा वेस्ट इन्डिजविरुद्ध खेल्दै छ ।
ओमानमा आगामी अक्टोबर ८ देखि १७ सम्म आइसिसी टी-२० विश्वकप एसिया प्यासिफिक रिजनल फाइनल हुँदै छ । यसैको तयारीका लागि नेपालले वेस्ट इन्डिजसँग खेल्न लागेको हो । यस छनोटमा कुल ९ राष्ट्रले खेल्नेछन् । यहाँबाट तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना विश्वकपमा स्थान बनाउनेछन् ।
यसपल्ट पनि छनोट चरण पार गर्दै नेपाली टोलीले तेस्रो पल्ट टी-२० विश्वकप खेल्ने लक्ष्यमा छ । त्यसैका लागि नेपालले छनोटअगाडि अनुभवी राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको टी-२० शृंखला खेल्न लागेको हो ।
प्रकाशित: ३ आश्विन २०८२ १७:४५ शुक्रबार