२०२६ फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले आफ्नो इतिहासमा दोस्रो पटक विश्वकप उपाधि जित्यो। यो ऐतिहासिक सफलतासँगै स्पेनले आफ्नो जर्सीमा दोस्रो स्टार थप्यो।
स्पेनका पूर्वकप्तान सर्जियो रामोस पनि फाइनलमा विशेष भूमिकामा देखिएका थिए। खेल सुरु हुनुअघि उनले विश्वकप ट्रफी मैदानमा लिएर प्रवेश गरेका थिए भने उपाधि जितेपछि टोलीसँगै विजय उत्सवमा पनि सहभागी बने।
फाइनलपछि रामोसले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरे, जसमा उनी निजी जेटभित्र स्पेनका दुई विश्वकप ट्रफीसँग गर्वका साथ पोज दिइरहेका देखिन्छन्।
तीमध्ये एउटा तस्बिरले विशेष चर्चा बटुल्यो। उक्त तस्बिर २०२२ विश्वकप जितेपछि लियोनेल मेस्सीले विश्वकप ट्रफीसँग खिचाएको चर्चित पोजजस्तै गरि खिचिएको थियो।
सामाजिक सञ्जालमा धेरै समर्थकहरूले रामोसले मेस्सीको प्रतिष्ठित तस्बिरको नक्कल गरेको टिप्पणी गरेका छन्।
रामोसले इन्टाग्राममा फोटोहरु राख्दै लेखेका छन्,‘फेरि ट्रफीहरूका साथ फर्किएँ। सपनाजस्तै यात्रा, अनि घर फर्कने सबैभन्दा उत्कृष्ट तरिका। यो अनुभव र हाम्रो च्याम्पियन राष्ट्रिय टोलीका लागि ट्रफी ल्याउने भावनालाई सधैं सम्झिरहनेछु। १८० अन्तर्राष्ट्रिय खेल खेलेर सबैभन्दा धेरै अन्तर्राष्ट्रिय सहभागिता गर्ने स्पेनी खेलाडी हुनु मेरो लागि अझ विशेष गर्वको क्षण हो।’
यद्यपि, रामोसले यो पोजबारे भने केहि प्रतिक्रिया दिएका छैनन्।
रामोस २०१० मा स्पेनले विश्वकप जित्दा टोलीका प्रमुख खेलाडी थिए। उनी २०१८ विश्वकपमा स्पेनका कप्तान थिए।
प्रकाशित: ७ श्रावण २०८३ १४:५४ बिहीबार