यसपल्ट ‘ह्यान्ड अफ गड’ को आवश्यकता परेन र अर्जेन्टिनाले त्यसको सहारा लिएन पनि तर पनि उत्तरी अमेरिकी राष्ट्रमा भएको फिफा विश्वकपमा अर्जेन्टिना ऐतिहासिक प्रतिद्वन्द्वी इङ्ल्यान्डमाथि हाबी भयो।
लियोनेल मेसीका जादुमयी खुट्टा र यस विश्वकपभर पटकपटक कठिन अवस्थाबाट फर्किने अर्जेन्टिनाको अदम्य आत्मबल नै पर्याप्त बन्यो। यससँगै यस विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले आफ्नो पुरानो र ऐतिहासिक प्रतिद्वन्द्वी इङ्ल्यान्डमाथि २–१ को सनसनीपूर्ण र यादगार पुनरागमन गर्यो। अब दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधिबाट एक कदम टाढा छ।
८५औं मिनेटसम्म १–० ले पछि परेको अर्जेन्टिनाले बुधबार राति इङ्ल्यान्डमाथि पुनरागमन जित निकाल्यो। एन्जो फर्नान्डेज र दोस्रो हाफमा मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई फाइनलमा पुर्याए। ‘मैले यसको सपना देखेको थिएँ। मैले एलेक्सिस (म्याक एलिस्टर) लाई भनेको थिएँ कि म गोल गर्छु। मैदानमा आएपछि जित दिलाउँछु भनेर उसलाई भनेको थिएँ,’मार्टिनेजले भने,‘यो टोलीले फेरि भन्ने प्रमाणित गरेको छ।’
अन्तिम सिट्ठी बज्नासाथ मेसी उत्सव मनाउँदै घुँडामा बसे। इङ्ल्यान्डका खेलाडी भने फेरि एकपटक अविश्वासमा मैदानमै ढले। सन् २०२६ पनि ती वर्षहरूको सूचीमा थपिएको छ, जहाँ अर्जेन्टिनाले विश्वकपमा इङ्ल्यान्डको सपना चकनाचुर बनाएको कथा समावेश हुनेछ। यसअघि १९८६ र १९९८ मा पनि अर्जेन्टिनाले इङ्ल्यान्डलाई हराएर विश्वकपबाट बाहिर पठाएको थियो। ‘टोली, प्रशिक्षक र समर्थकका लागि यो निकै पीडादायी छ,’ इङ्ल्यान्डका कप्तान ह्यारी केनले भने,‘हामीले यहाँसम्म आइपुग्न अत्यन्तै मेहनत गरेका थियौं। सबै खेलाडीले आफ्नो रगत, पसिना र आँसु बगाएका छन्। यस्तो रूपमा हार्नु साँच्चै असह्य छ।’
साबिक विजेता अर्जेन्टिनाले अब आइतबार न्यु जर्सीको इस्ट रदरफोर्डमा हुने फाइनलमा युरोपियन च्याम्पियन स्पेनसँग खेल्नेछ।
दक्षिण अमेरिकाको उत्कृष्ट टोली र युरोपको उत्कृष्ट टोलीबिच विश्व उपाधिको प्रतिस्पर्धा हुनेछ। यो हारले इङ्ल्यान्डका नयाँ पुस्ताका समर्थकलाई पनि त्यस्तै पीडा दिनेछ, जस्तो १९८६ को विश्वकप क्वार्टरफाइनलमा डिएगो म्याराडोनाको कुख्यात ‘ह्यान्ड अफ गड’ गोलले दिएको थियो। १९९८ को विश्वकपमा डेभिड बेकह्यामले डिएगो सिमियोनेलाई लात हानेपछि रातो कार्ड पाउँदै इङ्ल्यान्ड पेनाल्टी सुटआउटमा पराजित भएको सम्झना पनि फेरि ताजा भएको छ तर यसपटक फरक के थियो भने अन्याय भएको भन्ने कुनै आधार रहेन। यद्यपि ५५औं मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएपछि जित उनीहरूको हातमा पुगेजस्तै देखिएको थियो। त्यो गोलपछि इङ्ल्यान्ड रक्षात्मक बन्दै गयो। गोलकिपर जोर्डन पिकफोर्डले केही महत्त्वपूर्ण बचाउ गरे।
अर्जेन्टिनाले लगातार आक्रमण गरिरहँदा इङ्ल्यान्ड दबाबमा परेको थियो। मेसीलाई अधिकांश समय नियन्त्रणमा राखिएको थियो। तर उनी मैदानमा रहेसम्म कुनै पनि क्षण खेलको दिशा बदलिन सक्छ भन्ने विश्वास फेरि सही साबित भयो। ८५औं मिनेटमा मेसीले बल फर्नान्डेजलाई पास गरे र उनले पेनाल्टी क्षेत्रबाहिरबाट सानदार प्रहार गर्दै बराबरी गोल फर्काए। इन्जुरी समयको दोस्रो मिनेटमा मेसीले दिएको उत्कृष्ट क्रसलाई मार्टिनेजले हेडमार्फत जाली चुमाउँदै विजयी गोल गरे।
त्यो क्षण लगभग अपरिहार्यजस्तै बनिरहेको तियो। किनकि यस विश्वकपमा अर्जेन्टिनाले हार मान्न अस्वीकार गरेको यो पहिलोपटक थिएन। केप भर्डेदेखि इजिप्टसम्म, मेसी र उनका सहकर्मीहरूले हरेक कठिन अवस्थामा जित निकाल्ने बाटो भेटेका छन्।
‘यो सामूहिकता, भाइचारा र अन्तिम क्षणसम्म लड्ने मानसिकताको उदाहरण हो,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले भने,‘हामी त घर फर्किन तयार भइसकेका थियौं। दुःखी थियौं, किनकि मैदानमा सबैथोक दिएका थियौं तर उनीहरूले गोल गरेपछि हामीले आफू वास्तवमै कस्तो टोली हौं भन्ने देखायौं।’
उता इङ्ल्यान्ड भने विश्वकप सेमिफाइनलमा तेस्रो पटक असफल भयो। यसअघि १९९० मा जर्मनीसँग र २०१८ मा क्रोएसियासँग पराजित भएको थियो। पछिल्ला वर्षहरूमा ठूला प्रतियोगिताका निर्णायक क्षणमा अग्रता जोगाउन नसक्ने पुरानै कमजोरी फेरि दोहोरियो। आठ वर्षअघि क्रोएसियाविरुद्धको सेमिफाइनलमा इङ्ल्यान्ड १–० ले अघि थियो। तर अन्ततः २–१ ले हार्यो।
सन् २०२१ को युरोपियन च्याम्पियनसिप फाइनलमा पनि इटालीविरुद्ध १–० को अग्रता लिएर अन्ततः पेनाल्टी सुटआउटमा पराजित भयो। बुधबार पनि इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलका परिवर्तनहरू अर्को गोल थप्नेभन्दा पनि अग्रता जोगाउने उद्देश्यमा केन्द्रित देखिए। ‘अर्जेन्टिनाले बढी जोखिम उठायो। बढी लयका साथ खेल्यो। उनीहरूलाई अब गुमाउन केही बाँकी छैन भन्ने भावना थियो, जसले उनीहरूलाई स्वतन्त्र बनायो,’टुचेलले भने, ‘हामी भने अचानक धेरै कुरा गुमाउन सक्छौं भन्ने सोचमा खेल्न थाल्यौं, जसले हामीलाई रोक्यो।’
अब अर्जेन्टिना इतिहास रच्नबाट एक जित टाढा छ। ३९ वर्षे मेसीका लागि सम्भवतः यो अन्तिम विश्वकप हो। अब एक जितले मात्र सर्वकालीन महान् फुटबल खेलाडी भन्ने आफ्नो दाबीलाई अझ बलियो बनाउन सक्छन्।
‘हामी जित्ने प्रयास गर्नेछौं र मैदानमा सबैथोक दिनेछौं,’ स्कालोनीले भने, ‘यी खेलाडीहरूले जे देखाइरहेका छन्, त्यसलाई मानिसहरूले बुझ्न निकै कठिन छ। यो अविश्वसनीय छ। हामी साँच्चै अद्वितीय छौं। यो अहंकार होइन, यो हृदयबाट आएको भावना हो। हामी वास्तवमै अद्वितीय छौं।’
प्रकाशित: १ श्रावण २०८३ ०७:०८ शुक्रबार