खेल

सेनेगललाई फेरि दिइयो अफ्रिका कप अफ नेसन्स २०२५ को उपाधि, मोरक्कोको जित उल्टियो

खेलकुदसम्बन्धी विवाद समाधान गर्ने सर्वोच्च निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (सीएएस) ले अपिल स्वीकार गरेपछि सेनेगललाई २०२५ अफ्रिका कप अफ नेसन्स (एफकोन) को विजेता घोषणा गरिएको छ। यससँगै केही समयअघि खोसिएको उपाधि सेनेगलले पुनः पाएको छ।

जनवरी १८ मा मोरक्कोको राजधानी राबाटमा भएको फाइनल खेलमा सेनेगलले घरेलु टोली मोरक्कोलाई १–० गोलले हराएको थियो। तर, खेलका क्रममा भएको विवादका कारण अफ्रिकी फुटबल महासंघ (सीएएफ)ले पछि सेनेगललाई उपाधिबाट वञ्चित गर्दै मोरक्कोलाई ३–० को विजेता घोषणा गरेको थियो।

फाइनल खेलको दोस्रो हाफमा मोरक्कोले पेनाल्टी पाएपछि सेनेगलका खेलाडीहरूले त्यसको विरोध गरेका थिए। विरोधस्वरूप खेलाडी र प्रशिक्षक मैदान छाडेर बाहिरिएका थिए। करिब १४ मिनेटपछि सेनेगलको टोली पुनः मैदान फर्किएको थियो।

मोरक्कोका ब्राहिम डियाजले पेनाल्टी प्रहार गरे पनि गोल गर्न सकेनन्। त्यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा पेप गुएयेले निर्णायक गोल गरेपछि सेनेगल १–० ले विजयी बनेको थियो।

तर, सीएएफले सेनेगलको टोली मैदान छाडेर गएको घटनालाई आधार बनाउँदै खेल गुमाएको निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सेनेगलले सीएएसमा पुनरावेदन दिएको थियो।

सीएएसले पुनरावेदनमाथि सुनुवाइ गर्दै रेफ्रीबाट खेलसम्बन्धी नियमको कुनै त्रुटि नभएको निष्कर्ष निकालेको छ। सीएएसको पछिल्लो निर्णयसँगै सीएएफले गरेको मोरक्कोलाई विजेता घोषणा गर्ने निर्णय उल्टिएको छ।

यस फैसलापछि सेनेगलले २०२५ को अफ्रिका कप अफ नेसन्सको उपाधि पुनः आफ्नो नाममा कायम गरेको छ।

प्रकाशित: ९ मंसिर २०८३ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App