खेल

संकटा महिला लिगका लागि छनोट

पाँचौं खेलसम्म अपराजित रहँदै संकटा क्लब एन्फा राष्ट्रिय महिला लिगका लागि छनोट हुँदा छहारी युवा क्लबले आफ्नो सम्भावना जीवन्त राखेको छ।

छनोटको पाँचौं खेलमा संकटाले मंगलबार एनबिएम पोखरा गर्ल्स एफसीमाथि ६–१ को जित निकाल्दै महिला राष्ट्रिय लिगमा स्थान बनाएको हो। समूह ‘ए’ को छहारीले पाँचौं खेलमा सिन्धुपाल्चोक महिला फुटबल क्लबलाई १–० ले हराउँदै सम्भावना बलियो बनाएको छ।

यो जितसँगै छहारीले पाँच खेलबाट १० अंक जोड्यो। जुन शीर्ष दुई स्थानका चर्च ब्वाइज र आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबको भन्दा दुई अंकले कम हो। तेस्रो स्थानको राप्ती क्लबसँगै छहारीको समान अंक छ। अब छहारीले अन्तिम खेलमा चर्च ब्वाइजसँग खेल्नेछ। यो खेलमा जित निकाल्दा छहारीको शीर्ष दुई स्थानमा रहेर छनोट हुने सम्भावना बाँकी नै रहन्छ।

साथै आरएस रिसोर्ट र राप्तीको खेलको नतिजा पनि पर्खनु पर्नेछ। राप्तीले बुधबार चर्च ब्वाइजसँग र आरएस रिसोर्टले स्टुडेन्ड क्लबसँग खेल्नेछन्। यो खेलको नतिजाको पर्खाइमा छहारी पनि हुनेछ। छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको संकटाको यो लगातार पाँचौं जित हो। जितसँगै समूहको शीर्ष स्थानमा रहँदै संकटा राष्ट्रिय लिगका लागि छनोट हुने पहिलो टोली बनेको हो। संकटाको जितमा स्ट्राइकर पूर्णिमा राईले ह्याट्रिक गोल गरिन्।

अट्याकिङ मिडफिल्डर सेनु परियारको नाममा दुई गोल रह्यो। एक गोल संकटाले आत्मघाती उपहार प्राप्त गर्‍यो। छनोट प्रतियोगितामा सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। डबल राउन्ड रोविन प्रतिस्पर्धापछि प्रत्येक समूहको शीर्ष दुईमा अटाउने टोली राष्ट्रिय लिगमा छनोट हुने प्रावधान छ। समूहको तेस्रो स्थानमा रहने दुई टोलीबीच थप एक स्थानका लागि प्लेअफ हुनेछ। संकटाले आफ्नो अन्तिम खेलमा शनिबार न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ।  

प्रकाशित: १८ भाद्र २०८२ ०६:३६ बुधबार