दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज बांग्लादेशको सामना गर्दैछ।
बुधबार खेल पोखराको पोखरा रंगशालामा हुनेछ। यी दुई टोलीबिच खेल दिउँसो ३ बजे सुरु हुनेछ। बांग्लादेश जारी प्रतियोगितामा अपराजित छ।
त्यस्तै, नेपालले आफूले खेलेको दुई खेलमा एकमा जित र अर्कोमा हार व्यहोरेको छ। भारतसँग १-० गोलले पराजित भएको नेपालले भुटानमाथि ३-१ को जित हात पारेको थियो।
आज नेपालविरुद्ध खेल्दा बांग्लादेश समूह चरणमा अपराजित रहँदै फाइनलमा पुग्ने लक्ष्य लिएर आएको हुनेछ। त्यस्तै, नेपाल भने बलियो देखिएको बांग्लादेशको अपराजित यात्रालाई ब्रेक लगाउँदै जित हासिल गर्ने दाउमा छ।
जारी प्रतियोगितामा भुटान फाइनलको दौडबाट बाहिरिसकेको छ भने बांग्लादेश, नेपाल र भारतको सम्भावना जीवित छ। आयोजक राष्ट्र नेपालसहित प्रतियोगितामा भारत, बांग्लादेश र भुटानको सहभागिता छ।
प्रकाशित: २१ माघ २०८२ ११:३९ बुधबार