खेल

साफ फुटबल उद्घाटन: खेलअघि र पछिका गतिविधिमा सबैको ध्यान

भारत र पाकिस्तानबिचको चिर प्रतिद्वन्द्विताले दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको उद्घाटन खेलमा मैदानभित्र मात्र नभई खेलअघि र पछिका गतिविधिले पनि सबैको ध्यान खिचेको छ।

बंगलादेशमा आयोजना भइरहेको ६ राष्ट्र सम्मिलित साफ पुरुष फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भारत र पाकिस्तान आमनेसामने हुँदै छन्। विश्व फुटबल महासंघ (फिफा) निलम्बनका कारण पहिलोपल्ट नेपाल यो च्याम्पियनसिप खेल्न वञ्चित भएको छ।

सरकारी हस्तक्षेपका कारण फिफाले अखिल नेपाल फुटबल (एन्फा) माथि प्रतिबन्ध लगाएको हो। यसै साफ च्याम्पियनसिपमा भारत र पाकिस्तानको खेललाई लिएर सबैको ध्यान गएको छ। दुवै टोलीका खेलाडीले सुरुमा एकअर्कासँग हात मिलाउँछन् कि मिलाउँदैनन् भन्ने विषयमा धेरैको चासो रहनेछ। यस क्षेत्रमा फुटबलभन्दा क्रिकेटको लोकप्रियता बढी छ तर क्रिकेटको तुलनामा भारत र पाकिस्तानका राष्ट्रिय फुटबल टोली विश्व फुटबलमा शक्तिशाली टोली भने होइनन्।

पछिल्ला केही अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दुई देशबिचको तनाव सामान्यभन्दा बढी देखिएको छ। खेलअघि र खेलपछि खेलाडीले परम्परागत रूपमा एकअर्कासँग हात मिलाउने प्रचलनसमेत तोडेका छन् तर फुटबलमा भने परिस्थिति फरक हुन सक्ने अनुमान गरिएको छ। किनकि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) मा भारत सरकारका गृहमन्त्री अमित साहका छोरा जय साह छन्।

जय साह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का चेयरमेन पनि हुन्। त्यसले गर्दा पाकिस्तानसँगको खेलले त्यसको असर परेको हुन सक्छ। तथापि फुटबलमा भारत र पाकिस्तानबिचको लडाइँको असर नपर्ने अनुमान गरिएको छ।  

‘मलाई लाग्छ, उनीहरूले हात मिलाउनेछन्। देश जुनसुकै भए पनि फुटबलको प्रोटोकल पालना हुनेछ,’ अखिल भारतीय फुटबल महासंघका पूर्वमहासचिव साजी प्रभाकरनले भने, ‘त्यस्तो प्रतिद्वन्द्विता अहिलेसम्म फुटबलमा देखिएको छैन।’

यसको एउटा कारण दुई टोलीबिचको स्तरमा देखिएको ठूलो अन्तर पनि हो। फिफा वरीयतामा भारत १३८औं स्थानमा छ भने पाकिस्तान १९७औं स्थानमा छ। ‘भारतले दबदबा बनाउँदै आएको छ। तर, पाकिस्तानले आफ्नो स्तर सुधार गरेमा सम्भावना छ,’ प्रभाकरनले भने, ‘स्थानीय स्तरमा प्रतिद्वन्द्विता विकास हुन सक्छ। त्यसो भए यो निकै राम्रो र रोमाञ्चक हुनेछ।’

पाकिस्तानले डेनमार्कमा जन्मिएका कप्तान अब्दुल्लाह इकबालजस्ता विदेशी भूमिमा जन्मिएका खेलाडीलाई राष्ट्रिय टोलीमा समेटिरहेको छ। स्विडेनको क्लब म्याल्बी एआइएफबाट खेल्ने इकबालको कप्तानीमा पाकिस्तान पहिलोपल्ट क्षेत्रीय प्रतियोगिताको फाइनल पुग्ने लक्ष्यमा छ।

पाकिस्तानका प्रशिक्षक नोर्बर्टो सोलानोले भने आफ्नो खेलाडी जीवनमा पेरू र इङ्लिस प्रिमियर लिगमा बिताएको एक दशकको अनुभवलाई भारतविरुद्ध उपयोग गर्ने बताएका छन्। उनी न्युकासल युनाइटेड र एस्टन भिल्लाका पूर्वविंगरसमेत हुन्।

‘पेरु र चिलीबिचको प्रतिद्वन्द्विता पाकिस्तान र भारतबिचको जस्तै छ। समर्थकका लागि यी खेल कति महत्त्वपूर्ण छन् भन्ने कुरा मैले राम्रोसँग बुझेको छु। हामी समर्थकलाई खुसी बनाउन चाहन्छौं, किनकि उनीहरूका लागि यी खेलको अर्थ हामीलाई थाहा छ,’ सोलानोले ढाकामा हुने खेलअघि भने।

प्रतियोगितामा सहभागी कुल ६ राष्ट्रलाई ३/३ टोलीको दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। भारत र पाकिस्तानसँगै माल्दिभ्स यही समूहमा छन्। पूर्वअमेरिकी अन्तर्राष्ट्रिय खेलाडी थोमस डुलीको प्रशिक्षणमा रहेको आयोजक बंगलादेश दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ। घरेलु मैदानको फाइदा उठाउने प्रयासमा रहेको बंगलादेशले भुटान र श्रीलंकासँगै समूहमा स्थान बनाएको छ।  

पछिल्ला चार संस्करणमध्ये तीन पटक उपाधि जितेको भारत भने क्षेत्रीय फुटबलमा थप प्रतिस्पर्धा चाहन्छ। ‘भारतले अझ उच्च स्तरका प्रतियोगिता खेल्नुपर्छ भन्ने समर्थकको धारणा छ तर क्षेत्रीय फुटबलमा आफ्नो वर्चस्व देखाउँदा पनि एउटा सन्देश जान्छ,’ प्रभाकरनले भने, ‘दक्षिण एसियाका अन्य सबै टोली भारतलाई हराउन चाहन्छन्। उनीहरू भारतले यस क्षेत्रको फुटबलमा अझ सक्रिय भूमिका खेलोस् भन्ने पनि चाहन्छन्।’

 मध्यपूर्वमा जारी द्वन्द्वका कारण आगामी जनवरीबाट डिसेम्बरमा सारिएको २४ टोली सहभागी एसियन कपमा दक्षिण एसियाका कुनै पनि टोली छनोट हुन सकेनन्। प्रभाकरन भने दक्षिण एसियाली फुटबलले पनि क्रिकेटजस्तै समर्थकको आकर्षण र लोकप्रियता हासिल गर्न सक्ने सम्भावना रहेको विश्वास गर्छन्।

‘यस क्षेत्रको खेलप्रतिको लगाव क्रिकेटले देखाएको छ। तर, माल्दिभ्स, नेपाल र भुटानमा फुटबल नै नम्बर एक खेल हो,’ उनले भने, ‘स्थानीय फुटबलको विकास हुन आवश्यक छ। त्यसबाट भारतलाई पनि फाइदा पुग्नेछ। भारतले यस क्षेत्रका खेलाडीलाई आफ्नो लिगमा आकर्षित गर्न सक्छ। अन्य देशका लिगको स्तर सुधार भए आफ्ना खेलाडीलाई पनि त्यहाँ पठाउन सक्छ। यो सबैको हितमा छ।’

आगामी केही साता भारतका लागि आफ्नो शक्ति प्रदर्शन गर्ने अवसर पनि हुनेछ। ‘दक्षिण एसियाली च्याम्पियनसिप यस क्षेत्रका देशका लागि एसियन कपजस्तै हो। यो नै त्यस्तो प्रतियोगिता हो, जहाँ उनीहरूले अधिकतम सहभागिता जनाउन सक्छन्,’ प्रभाकरनले भने।

नेपाल सरकारसँग अन्तरद्वन्द्व बढेपछि नेपाली फुटबल भने ठुलो चपेटामा पर्‍यो। दशकौं देखि नेपाली फुटबल आन्तरिक द्वन्द्वमा फस्दै आएको थियो। तथापि साफ च्याम्पियनसिप जस्तो महत्त्वपूर्ण प्रतिस्पर्धामा भने सहभागी हुनबाट वन्चित भएको थिएन। तथापि यसपल्ट भने निलम्बनका कारण नेपाल अन्य प्रतियोगितासँगै साफ खेल्नबाट नै वन्चित हुन पुग्यो।  

प्रकाशित: १९ कार्तिक २०८३ ०७:४१ बिहीबार