खेल

सदीक्षालाई हिमालयन क्विन्स ग्याम्बिटको उपाधि

अधिवक्ता सदीक्षा आचार्यले हिमालयन क्विन्स ग्याम्बिटको दोस्रो संस्करणको उपाधि उचालेकी छन्।

थापाथालीस्थित चेस पार्कमा आइतबार सम्पन्न प्रतियोगितामा अपराजित रहँदै सदीक्षा ६.५ अंकसहित च्याम्पियन भएकी हुन्। प्रतियोगिता स्विस लिग प्रणालीको आधारमा सात चरणमा सञ्चालन भएको थियो। ब्लिट्ज चेस प्रतियोगितामा सोनालिका सर्राफले पनि समान ६.५ अंक नै बनाइन् तर बराबरी अंक भए पनि टाइब्रेकरका आधारमा पायोनियर एसोसिएट लकी सदीक्षा उपाधिको हकदार भइन्।

प्रिसियस अधिकारी र शुभश्री श्रेष्ठले पनि समान ६ अंक बनाए। टाइब्रेकरको आधारमा प्रिसियस तेस्रो भइन्। प्रकृति न्यौपानेले ५.५ अंक, अस्मिता दाहालले ५.५, मेघना अधिकारीले पाँच र आरती राईले पाँच अंक जोडे र संयुक्त रूपमा शीर्ष आठमा रहे।

त्यस्तै यु–७ मा रुथ्वी सिंह चार, यु–१० मा संगीता दास ४.५, यु–१३ मा सुप्रिया खत्री पाँच, यु–१६ मा गृष्मा पौडेल पाँच र ४० वर्षमाथि शिवांगी नाथ पाँच अंकसहित आआफ्ना उमेरसमूहमा पहिलो भए। स्कुलतर्फ मार्भलस इङ्लिस बोर्डिङले उपाधि जित्यो। उसले शीर्ष तीन खेलाडीको मूल्यांकनका आधारमा सर्वाधिक आठ अंक बटुल्दै ट्रफी उचालेको हो।

ग्रिनल्यान्ड इन्टरनेसनल स्कुल पाँच अंकसहित उपविजेता भयो। पञ्चकन्या आधारभूत विद्यालय चार अंक जोड्दै तेस्रो स्थानमा रह्यो। विश्व बुद्धिचाल महासंघको फिडे वुमेन्स कमिसन फर चेसले मार्च महिनामा फिडे वुमेन्स चेस म्याराथन सञ्चालन गरिरहेको छ।

हिमालयन चेस एकेडेमीले नेपालमा हिमालयन क्विन्स ग्याम्बिट आयोजना गरेको हो। यस प्रतियोगितामा ६ वर्षदेखि ४७ वर्षसम्मका एक सय तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए। शनिबार मात्र दोस्रो वार्षिकोत्सव मनाएको हिमालयन चेस एकेडेमीले क्विन्स ग्याम्बिटसँगै क्लासिकल, र्‍यापिड, ब्लिट्ज र पजल सोल्भिङ गरी कुल १४ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको छ। हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू र कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्रकुमार राईलगायतले विजेतालाई पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: २ चैत्र २०८२ ०७:५३ सोमबार