खेल

लिगमा एपिएफकाे यात्रा अपराजित

लिगमा अपराजित यात्रा जारी राख्दै एपिएफले घरेलु मैदानमा भएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको लिगको आफ्नो अन्तिम तथा चौथो खेलमा एपिएफले भारतीय टोली इस्ट बंगालसँग गोलरहित बराबरी खेल्दै उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको हो। इस्ट बंगालसँगै एपिएफले शनिबार उपाधिका लागि खेल्नेछ।

समान चार खेलमा एपिएफको यो दोस्रो बराबरी हो भने इस्ट बंगालको पहिलो बराबरी। साफका पाँच राष्ट्रका क्लब सम्मिलित च्याम्पियनसिपको लिगमा शीर्ष दुई स्थानमा रहने टोली फाइनल खेल्ने प्रावधान छ। लिगको अन्तिम खेलअगावै दुवै टोली फाइनलमा पुगिसकेका थिए। त्यसैले बुधबार दुवै टोली यो खेल जित्दै बलियो दाबेदारी दिन चाहन्थे।

नेपालको लिग च्याम्पियन एपिएफले भारतको लिग च्याम्पियन इस्ट बंगालसँग बराबरी खेल्दै उपाधि भिडन्त तय गरेको छ। इस्ट बंगालले तीन खेलसम्म विजययात्रा कायम राखेको थियो। एपिएफले भने यसअघि दुई खेलमा जित र एक बराबरीको नतिजा सामना गरेको थियो। तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको इस्ट बंगालले निकै चुनौती दियो। तर, जित निकाल्न सकेन। अब एपिएफ र इस्ट बंगालबीच आगामी शनिबार उपाधि भिडन्त हुनेछ।

एपिएफकी गोलकिपर अञ्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन्। स्ट्राइकर रश्मिकुमारी घिसिङले सुनौलो अवसरमा गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

रश्मिले निर्धारित हाफ सकिन पाँच मिनेट बाँकी छँदा गोलको अवसर पाएकी थिइन्। भारतीय भेट्रान डिफेन्डर आशालता देवीको अप्रत्याशित गल्तीका कारण यो अवसर जुरेको थियो। बल क्लियर गर्ने क्रममा आशालता अनियन्त्रित हुँदै लड्न पुगिन्। रश्मिले त्यसैको फाइदा उठाउँदै बल खोसिन् तर बक्सभित्र पुग्दा आफै अलमलिइन्।

दोस्रो हाफमा पनि गोल हुन सकेन। दोस्रो हाफमा इस्ट बंगालले राम्रो अवसर बुन्यो। तर, आक्रमणहरू एपिएफकी गोलकिपर अञ्जना रानामगरले असफल बनाइन्। इन्जुरी समयमा एपिएफले पनि गोल गर्ने अवसर बनायो तर सरु लिम्बुको प्रहार इस्ट बंगाली गोलकिपर पान्थोई चान्नुले बचाइन्।

खेल गोलरहित बराबरीमा सकियो। एपिएफकी गोलकिपर अञ्जना प्लेअर अफ दी म्याच भइन्। एपिएफका प्रशिक्षक जीवेश पाण्डेले जित निकाल्न नसके पनि आफ्ना खेलाडीले धेरै राम्रो खेलको बताए।

गोल स्कोरिङमा यसअघि नै समस्या देखिएकाले त्यसमा काम गरे पनि सफल नभएको उनले उल्लेख गरे। फाइनलका लागि अझै दुई दिनको समय बाँकी रहेकाले त्यसमा काम गर्ने उनको भनाइ छ। इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसनले एपिएफ राम्रो टोली रहेको दुवैले राम्रो अवसर सिर्जना गरे पनि गोल सम्भव नभएको बताए। गोकुलममा हुँदा एपिएफका खेलाडीहरूबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रशिक्षक एन्थोनीले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने दाबी गरेका छन्।

पहिलोपल्ट साफले सुरु गरेको क्लब च्याम्पियनसिपको लिगचरण पूरा भएको छ। समान चार खेलमा इस्ट बंगाल १० अंकसहित शीर्ष स्थानमा रहँदा एपिएफ आठ अंक जोड्दै दोस्रो स्थानमा छ।

समान खेलमा ट्रान्सफर युनाइटेड तीन अंकसहित तेस्रो स्थानमा रहँदा कराची एफसी र बंगलादेशको नासरिन एफसीले समान दुई अंक बटुल्दै पहिलो संस्करणको यात्रा टुंग्याए। कराचीले एक गोल पनि गर्न सकेन भने ट्रान्सफर र नासरिनले अन्तिम खेलमा गोल खाता खोले।

दिनको पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नासरिन एफसीबीचको खेल पनि १–१ गोलको बराबरीमा टुंगिएको थियो।

प्रकाशित: ३ पुस २०८२ ०६:२४ बिहीबार