दोहामा आइतबार भएको राइजिङ स्टार्स एसिया कप २०२५ को फाइनलमा पाकिस्तान शाहिन्सले बंगलादेश ए लाई सुपर ओभरमा हराउँदै उपाधि जितेको छ।
पहिले ब्याटिङ गरेको पाकिस्तान शाहिन्स २० ओभरमा १२५ रनमै अलआउट भयो। साद मसूदले २६ बलमा ३८ रन बनाए। रिपन मन्डोलले चार ओभरमा ३/२५ र रकिबुल हसनले २/१६ लिएर बंगलादेशले खेल नियन्त्रणमा लिएको थियो।
१२६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश ए १८ औं ओभरमा ९६/९ पुगेर लगभग हार्नै लागेको थियो। तर अब्दुल गफ्फर सकलेन र रिपन मन्डोलले अविजित २९ रनको साझेदारी गर्दै खेल सुपर ओभरसम्म पुर्याए।
सुपर ओभरमा अहमद दानियलले बंगलादेशलाई ६/२ मा रोके। जवाफमा पाकिस्तानले दुई बल बाँकी छँदै ७ रनको लक्ष्य पूरा गर्यो। अहमद दानियलले ४ ओभरमा २/११ र सुपर ओभरमा २ विकेट लिए। सुफियान मुकीमले ४ ओभरमा ३/११ लिए।
यो उपाधिसँगै पाकिस्तान शाहिन्सले सात संस्करणमा तेस्रो पटक ट्रफी उचालेको छ। यसअघि २०१९ र २०२३ मा पनि पाकिस्तानले नै जितेको थियो। अब यो प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टोली पाकिस्तान नै बनेको छ।
सेमिफाइनलमा पाकिस्तान श्रीलंका ए लाई ५ रनले र बंगलादेश ए सुपर ओभरमा भारत ए लाई हराएर फाइनल पुगेका थिए। एजेन्सी
प्रकाशित: ८ मंसिर २०८२ ०८:१९ सोमबार