भारतीय क्रिकेट टोलीका विकेटकिपर–ब्याटर ऋषभ पन्तले उत्तराखण्डमा जग्गा खरिद गर्ने प्रक्रियामा देखिएको अस्पष्टता समाधान गरिदिन राज्य सरकारसँग आग्रह गरेका छन्।
पन्तले शुक्रबार राति सामाजिक सञ्जाल एक्समार्फत उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीलाई सम्बोधन गर्दै आफू लामो समयदेखि दिल्लीबाट आफ्नो बसोबास उत्तराखण्ड सार्ने प्रयासमा रहेको बताएका छन्। राति १२ः४६ बजे गरेको पोस्टमा पन्तले उत्तराखण्डमा आफ्नो आवश्यकता अनुसारको पर्याप्त र उपयुक्त ठाउँ पाउन कठिन भइरहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्,'उत्तराखण्डको भएकाले लामो समयदेखि आफ्नो आधार दिल्लीबाट उत्तराखण्ड सार्ने प्रयास गरिरहेको छु। तर यहाँ बस्नका लागि आफ्नो आवश्यकताअनुसार राम्रो र ठूलो ठाउँ पाउन सकिरहेको छैन।’ पन्तले आफूलाई उत्तराखण्डसँग गहिरो लगाव रहेको भन्दै आफ्नो राज्यमा फर्किएर बस्न चाहेको बताएका छन्। उनले जग्गा खरिदमा देखिएको प्रक्रियागत अस्पष्टताका कारण तीन वर्षदेखि प्रयास गर्दा पनि जग्गा किन्न नसकेको गुनासो गरेका छन्।
'मलाई उत्तराखण्डसँग निकै लगाव छ र आफ्नो राज्यमा फर्किएर बस्न चाहन्छु। तपाईलाई विनम्र अनुरोध छ, जग्गा खरिद गर्न मलाई सहयोग गरिदिनुहोस्। जग्गा खरिदको प्रक्रियामा स्पष्टताको निकै समस्या छ र तीन वर्षदेखि प्रयास गर्दा पनि अहिलेसम्म जग्गा पाउन सकेको छैन,’ पन्तले भनेका छन्।
पन्तले आफूले उत्तराखण्डलाई प्रवर्द्धन गर्न पनि काम गर्दै आएको उल्लेख गरेका छन्। अब पहाडी समुदायबीच फर्किएर राज्यका लागि केही गर्न तथा यसको विकासमा योगदान पुर्याउने आफ्नो इच्छा रहेको उनले बताएका छन्। उनले मुख्यमन्त्री धामीलाई आफ्नो विषयमा ध्यान दिन आग्रह गर्दै सरकारको जवाफको प्रतीक्षामा रहेको बताएका छन्। उत्तराखण्डमा जग्गा खरिदसम्बन्धी नियम र प्रक्रियाका कारण बाहिरबाट आउने व्यक्तिका लागि केही सीमितता र कानुनी प्रावधानहरू रहेका छन्। यही प्रक्रियामा स्पष्टता खोज्दै पन्तले मुख्यमन्त्रीसँग सार्वजनिक रूपमा सहयोग मागेका हुन्।
प्रकाशित: २३ श्रावण २०८३ ०९:४० शनिबार