खेल

धावकलाई सम्मान

प्रयास मञ्च नेपालले धाविका राजपुरा पछाईं र विभिन्न प्रतियोगितामा पदक जित्नुका साथै उत्कृष्ट प्रदर्शन गरेका भेट्रान धावक र खेलकर्मी सम्मानित भएका छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित भेट्रान धावक एवं गीतकार बुद्धवीर लामाको १४औं साङगीतिक साँझका अवसरमा कुल १२ खेलकर्मीलाई सम्मान गरिएको हो। राजपुराले दक्षिण एसियाली क्रसकन्ट्री दौडको १० मिलोमिटर दूरीमा रजत पदक जितेकी थिइन्।

सम्माननित हुने अन्यमा नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहनकुमार कार्की, पुष्पलाल श्रेष्ठ, सीता रिमाल, जयराम लामा, दीपककुमार रन्जित, धर्म महर्जन, याङदी लामा, रोशनी शाह, लाक्पा शेर्पा लामा र त्रिरत्न मानन्धर छन्। उक्त कार्यक्रममा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसीलाई सम्मान गरिएको थियो।

सो अवसरमा खेलकुद र शिक्षा क्षेत्रमा योगदान पुर्‍याएबापत ज्ञानोदय बाल वाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, ज्ञानोदयका सिनियर मोडल डली गुरुङ (प्रतिभा) र भाइस प्रिन्सिपल भानु एलगायतलाई विशेष सम्मान प्रदान गरिएको थियो। ज्येष्ठ नागरिक, सामाजसेवीसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई पनि सम्मान गरिएको थियो। पूर्वप्रधानमन्त्री झलनाथ खनाल, दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, कार्यक्रम संयोजक जशु लामा र बुद्धवीर लामालगायतले उनीहरूलाई सम्मान गरेका हुन्।

प्रकाशित: १५ भाद्र २०८२ ०६:५४ आइतबार