उत्तरी अमेरिकामा फिफा विश्वकप सकिएको तीन साता पनि नबित्दै युरोपेली फुटबलको नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र एस्टन भिल्लाबिच युइएफए सुपर कपको प्रतिस्पर्धा हुँदै छ।
नयाँ सिजनको पहिलो उपाधिका लागि बुधबार साल्जबर्गमा फ्रान्सको क्लब पिएसजी र इङ्लिस प्रिमियर लिग क्लब भिल्लाबिच प्रतिस्पर्धा हुन लागेको हो। च्याम्पियन्स लिग र युरोपा लिगका पछिल्ला विजेताबिच सुपर कपको उपाधिका लागि प्रतिस्पर्धा हुने परम्परा छ। पछिल्लो समय युइएफए र विश्व फुटबल महासंघ (फिफा) बिच बढ्दो दूरीका बिच यो खेल हुँदै छ।
युरोपेली फुटबलको सर्वोच्च निकायलाई फिफाको खर्चमा आफ्नो प्रभाव प्रदर्शन गर्ने अर्को अवसर पनि दिएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पछिल्लो गतिविधिका कारण दुई शक्तिशाली फुटबल निकायबीच सम्बन्ध थप तनावपूर्ण बन्दै गइरहेको छ। यसको कारण खेल सञ्चालन गर्ने रेफ्री ओमर आर्टान हुन्। सोमालियाका रेफ्री आर्टानलाई विश्वकप सुरु हुनुभन्दा केही दिनअघि अमेरिकाले सुरक्षा चासो देखाउँदै रेफ्रीको भूमिका निर्वाह गर्नबाट रोकेको थियो।
अमेरिकी अधिकारीहरूले आर्टानको सम्बन्ध आतंकवादी संगठनहरूसँग रहेको दाबी गरेका थिए। यद्यपि त्यसको प्रमाण भने सार्वजनिक गरेका थिएनन्। त्यसपछि युइएफएले गत सिजन अफ्रिकाका उत्कृष्ट रेफ्री घोषित आर्टानलाई सुपर कपको जिम्मेवारी दिने निर्णय ग¥यो। यो निर्णय फुटबल समुदायमा व्यापक रूपमा स्वागत भयो। कतिपयले यसलाई युरोपेली फुटबल महासंघको चतुर राजनीतिक कदमका रूपमा पनि हेरे। त्यसयता युइएफए र फिफाबीचको असमझदारी झनै बढेको छ। विश्वकपको स्वामित्वमा हिस्सेदारी बेच्ने इन्फान्टिनोको हालैको योजना नै द्वन्द्व बढाउने प्रमुख कारण हो। तर, अन्ततः रद्द भएको योजनाप्रति असन्तुष्ट युइएफएले फिफा अध्यक्ष पदबाट उनलाई हटाउने अभियानको नेतृत्व गरिरहेको छ।
त्यसैले बुधबारको खेलमा मैदानमा उत्रने खेलाडीहरू जत्तिकै रेफ्री आर्टान पनि चर्चाको केन्द्रमा छन्। पिएसजी सुपर कपको उपाधि लगातार दुई पटक जित्ने दोस्रो टोली बन्ने लक्ष्यमा छ। यसअघि स्पेनको रियाल मड्रिडले सन् २०१६ र २०१७ मा लगातार सुपर कप जितेको इतिहास छ। गत वर्षको सुपर कपमा पिएसजीले टोटेनहमलाई पेनाल्टी सुटआउटमा हराएको थियो।
पिएसजीका खेलाडीहरू विश्वकपमा खेलेको समयअनुसार फरकफरक समयमा प्रिसिजन प्रशिक्षणमा फर्किएका थिए। तर एक उल्लेखनीय खेलाडी भने विश्वकपमै सहभागी भएनन्। विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ६ गोल र दुई असिस्ट गरेका बालोन डिओर विजेता फ्रान्सका ओस्मान डेम्बेले सोमबार प्रशिक्षणमा फर्किएका छन्। उनीसँगै फ्रान्सकै डिजिरे डुए र ब्राड्ली बार्कोला पनि टोलीमा फर्किसके।
उनीहरूसँग विश्वकप विजेता स्पेनका मिडफिल्डर फाबियान रुइज पनि जोडिएका छन्। फ्रान्सविरुद्ध सेमिफाइनल जितमा रुइजको सटीक र प्रभावशाली प्रदर्शन महत्त्वपूर्ण रह्यो। जर्जिया विश्वकपका लागि छनोट हुन नसकेकाले स्टार विङ्गर ख्विचा क्वारात्स्खेलिया प्रतियोगितामा सहभागी भएनन्। त्यसैले उनी लामो समयदेखि प्रशिक्षणमा फर्किसकेका छन्। उनी बायाँ विङमा आफ्नो मन पर्ने स्थानबाट सुरुआती टोलीमा पर्ने निश्चितजस्तै देखिन्छन्।
नयाँ खेलाडी म्याग्नेस अक्लियोस भने दायाँ विङमा खेल्न सक्नेछन्। मोनाकोबाट अक्लियोसको आगमन बार्कोलाको सम्भावित बहिर्गमनसँग पनि जोडिएको छ। विश्वकपमा तीन गोल गरेका तीव्र गतिका विङ्गर बार्कोलालाई प्रिमियर लिगको शीर्ष क्लब लिभरपुलले भित्राउन चाहेको चर्चा चलिरहेको छ। लुइस एनरिकेको टोलीमा पूर्वभिल्ला खेलाडी लुकास डिग्ने पनि देखिन सक्छन्।
आर्टानको समय चुनौतीपूर्ण
सन् २०२५ को अफ्रिकन च्याम्पियन्स लिग फाइनलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका आर्टान सुपर कपको खेल सञ्चालन गर्ने पहिलो गैरयुरोपेली रेफ्री हुन्।
उनले यो सम्मान जीवनको अत्यन्त कठिन समयपछि प्राप्त भएको बताएका छन्। ‘धेरै मानिसहरूले मप्रति सहानुभूति देखाएका छन्,’ उनले युइएफएसँग भने, ‘किनभने जब कुनै व्यक्तिले धेरै वर्षदेखि मेहनत गरिरहेको हुन्छ तर उसले काम गर्नुपर्ने अवस्थामा अचानक त्यो गर्न पाउँदैन भने निकै पीडा हुन्छ। विश्वभरबाट पाएको समर्थनका लागि अत्यन्त आभारी छु।’ आर्टानले आफ्नो युरोपेली फुटबलमा पहिलो खेलका लागि पिएसजी र एस्टनबारे धेरै अध्ययन गरिरहेको बताए। ‘युरोपमा खेलको स्तर उत्कृष्ट छ। उनीहरूले खेल्ने फुटबल पनि निकै राम्रो छ,’ उनले भने।
प्रकाशित: २७ श्रावण २०८३ ०८:३४ बुधबार