खेल

लालीगुराँस शीर्ष स्थानमा

अब्दुल युसुफ हाउलेको ह्याट्रिक प्रेरणामा लालीगुराँस एसोसिएसन जारी एन्फा राष्ट्रिय लिगमा पाँचौँ जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार काँक्रे बिहार क्लबमाथि ४–१ को सहज जित निकाल्दै लालीगुराँस शीर्ष स्थानमा उक्लिएको हो। लालीगुराँसको फराकिलो जितमा अब्दुल युसुफले ह्याट्रिक पूरा गरे। मुकुन्दकुमार निउरेले एक गोल थपे। काँक्रे बिहार पुछारबाट दोस्रो स्थानमा छ। अहिलेसम्म जितविहीन काँक्रे बिहारमाथि लालीगुराँस पूर्ण हाबी भयो। काँक्रे बिहारका सोनम आचार्यले एक गोल फर्काए। जितसँगै लालीगुराँस ७ खेलमा १७ अंक जोड्दै शीर्ष स्थानमा उक्लियो। अपराजित लालीगुराँसको यो पाँचौं जित हो। लालीगुराँसले मच्छिन्द्र र आर्मीसँग बराबरी खेलेको थियो।

काँक्रे बिहारको यो छैटौं हार हो। काँक्रे बिहारले मात्र एक अंक जोडेको छ। लालीगुराँसले दुवै हाफमा समान दुई गोल गर्‍यो। काँक्रे बिहारले दोस्रो हाफमा एक गोल फर्काएको हो। मुकुन्दकुमारको गोलबाट लालीगुराँसले खेलको ३५औं मिनेटमा अग्रता लियो। दुई मिनेटपछि नै लालीगुराँसले दोस्रो गोल गर्‍यो। उसका लागि युसुफले गोल गरेका हुन्।

यससँगै पहिलो हाफमा लालीगुराँस २–० ले अगाडि रह्यो। ५५औं मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गरे। एक मिनेटपछि नै उनले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे। यससँगै लालीगुराँस ४–० ले अगाडि बढ्यो। ७१औं मिनेटमा सोनमले गोल गर्दै काँक्रे बिहारको अग्रता छुट्याउने प्रयास गरे। तर, त्यसपछि बाँकी समयमा थप गोल निस्किएन र लालीगुराँसले सहज जित निकाल्यो।

दशरथ रंगशालामा नै भएको दिनको अर्को खेल गोलरहित बराबरीमा टुंगियो। श्री भगवती क्लब र सातदोबाटो युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। दशरथ रंगशालामा भएको दोस्रो खेलमा दुवै टोलीले अवसर बनाए। तर गोल गर्न भने सकेनन्। श्री भगवतीका डिफेन्सिभ मिडफिल्डर अजित लामाको टप कर्नर प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सुन्दर बचाउ गरे। भगवतीले दोस्रो हाफमा गोलका अवसर सिर्जना गर्न सकेन।

खेलको १३औं मिनेटमा सातदोबाटोका फोडे फोफानाले प्रहार गरेको हेडिङ गोल पोस्टको माथिबाट बाहिरिन पुग्यो। त्यसको दुई मिनेटपछि भगवतीका सुजन डंगोलले गरेको प्रहार गोल पोष्टको दायाँ जाली छोएर बाहिरियो। शिशिर लेखीको पासमा उनले प्रहार गरेका हुन्। खेलअवधिभर दुवै टोलीले अवसर बुने। तर गोल निकाल्न भने सकेनन्। यो नतिजासँगै सातदोबाटो ७ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको १२औं स्थानमा उक्लियो। श्री भगवती १४औं स्थानमा यथावत् रह्यो। अहिले तिनको तेस्रो खेल मनाङ मस्र्याङ्दी र एपिएफबीच दशरथ रंगशालामा नै भइरहेको छ।

प्रकाशित: १४ फाल्गुन २०८२ ०७:४७ बिहीबार