खेल

त्रिवि मैदानमा पूर्व पाकिस्तानी स्टार शोएब अख्तर

विश्व क्रिकेट इतिहासकै सर्वाधिक तीव्र गतिका पूर्व पाकिस्तानी बलर शोएब अख्तर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित भएका छन्।

जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार आयोजित खेलका क्रममा उनी मैदानमा देखिएका हुन्।

अख्तर प्रतियोगिताको आधिकारिक प्रसारक हिमालय स्पोर्ट्सको विशेष निमन्त्रणामा क्रिकेट विशेषज्ञ तथा विश्लेषकका रूपमा सहभागी हुन काठमाडौं आएका हुन्। त्रिवि मैदानमा उनको उपस्थितिले नेपाली समर्थक र खेलाडीहरूमाझ उत्साह थपेको छ।

विश्व क्रिकेटमा रावलपिन्डी एक्सप्रेसको उपनामले परिचित अख्तर अन्तर्राष्ट्रिय क्रिकेटमा आधिकारिक रूपमा सबैभन्दा छिटो बल फाल्ने कीर्तिमानी बलर हुन्।

उनले सन् २००३ को एकदिवसीय विश्वकपमा इंग्ल्यान्डविरुद्ध प्रतिघण्टा १६१.३ किलोमिटरको गतिमा बलिङ गरेर विश्व कीर्तिमान बनाएका थिए। क्रिकेट इतिहासमा १०० माइल प्रतिघण्टाको गति पार गर्ने उनी पहिलो खेलाडी समेत हुन्।

सन् १९९७ देखि २०११ सम्म पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलेका अख्तरले ४६ टेस्टमा १७८ विकेट, १६३ एकदिवसीय खेलमा २४७ विकेट र १५ टी-२० अन्तर्राष्ट्रियमा १९ विकेट लिएका छन्।

आफ्नो आक्रामक बलिङ र विष्फोटक गतिकै कारण विश्वभरका ब्याट्सम्यानहरूमाझ त्रास फैलाउन सफल अख्तरले आफ्नो खेल जीवनमा कुल ४४४ अन्तर्राष्ट्रिय विकेट हात पारेका थिए।

सन्यासपछि उनी विश्वभरका प्रमुख क्रिकेट प्रतियोगिताहरूमा टिप्पणीकार तथा विश्लेषकका रूपमा सक्रिय रहँदै आएका छन्।

प्रकाशित: १० कार्तिक २०८३ १९:०५ मंगलबार