इंग्लिस फरवार्ड मार्कस रासफोर्ड नयाँ सिजनको तयारीका लागि म्यानचेस्टर युनाइटेडको टोलीमा फर्किने भएका छन्।
मुख्य प्रशिक्षक माइकल क्यारिकले रासफोर्ड आयरल्यान्डमा जारी टोलीको प्रिसिजन प्रशिक्षण शिविरमा सहभागी हुने पुष्टि गरेका हुन्। रासफोर्ड जुलाई १९ मा इंग्ल्यान्डले फ्रान्सलाई विश्वकपको तेस्रो स्थानको प्लेअफमा पराजित गरेपछि बिदामा थिए। अब उनी नयाँ सिजनको तयारीका लागि युनाइटेडको टोलीसँग जोडिन लागेका हुन्।
गत सिजन रासफोर्ड बार्सिलोनाबाट ऋणमा खेलेका थिए। तर बार्सिलोनाले उनलाई स्थायी रूपमा अनुबन्ध गर्न ३ करोड युरोको विकल्प प्रयोग नगर्ने निर्णय गरेको छ। त्यसपछि रासफोर्ड फेरि युनाइटेडमै फर्किने अवस्था बनेको हो।
ओल्ड ट्राफोर्डसँग सन् २०२८ सम्मको सम्झौता रहेका रासफोर्ड १८ महिनाभन्दा बढी समयपछि पहिलोपटक युनाइटेडको टोलीको हिस्सा बन्न लागेका छन्। अब नयाँ प्रशिक्षक माइकल क्यारिकको योजनामा रासफोर्डले कस्तो भूमिका पाउँछन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित हुनेछ।
प्रकाशित: २४ श्रावण २०८३ ११:१९ आइतबार