नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट आज ‘रोड टु यूएफसी’को पाँचौँ संस्करणअन्तर्गत सेमिफाइनल भिडन्तमा उत्रिँदैछन्।
चीनको सांघाईमा हुने बान्टमवेट सेमिफाइनलमा ढाँटले अपराजित न्युजिल्यान्डका कासिब ‘मर्डर’ मर्डकसँग प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलाडीले सेमिफाइनलअघि निर्धारित तौल पूरा गरेका छन्।
ढाँटले यसअघि मेमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा नकआउट गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
मर्डक भने ८–० को अपराजित रेकर्डसहित ढाँटविरुद्ध उत्रिँदैछन्। त्यसैले नेपाली खेलाडीका लागि यो अहिलेसम्मकै कठिन चुनौतीमध्ये एक मानिएको छ।
‘बझाङको बाघ’का रूपमा परिचित ढाँटका लागि आजको भिडन्त यूएफसी प्रवेशको यात्रामा महत्वपूर्ण खुड्किलो हो। सेमिफाइनल जिते उनी प्रतियोगिताको फाइनलमा पुग्नेछन् र यूएफसी पुग्ने लक्ष्यबाट एक कदम मात्र टाढा हुनेछन्।
ढाँटले रोड टु यूएफसीमा लगातार प्रभावशाली प्रदर्शन गर्दै नेपाली एमएमएको अन्तर्राष्ट्रिय पहिचान बलियो बनाउँदै आएका छन्। अब उनको लक्ष्य अपराजित मर्डकलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ।
प्रकाशित: १२ भाद्र २०८३ ०७:१८ शुक्रबार