खेल

टी-२० विश्वकपमा असफलतापछि अष्ट्रेलिया टोलीमाथि प्रश्नैप्रश्न

भारत र श्रीलंकामा जारी टी-२० पुरुष विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि अष्ट्रेलिया टोलीमाथि यति बेला आलोचना भइरहेको छ।

विश्वकपको समूह 'बी' मा रहेको अष्ट्रेलियाले यस पटक सुपर-८ मा स्थान बनाउन नसक्दा टोलीमाथि अहिले प्रश्नैप्रश्न र आलोचना भएको हो। अस्ट्रेलियाका प्रशिक्षक एन्ड्रयू म्याकडोनाल्डले ट्वान्टी-२० विश्वकपमा अष्ट्रेलियाको टोली बलियो रहेको सावित गरे। अष्ट्रेलियाले सन् २०२१ मा पहिलो पटक टी-२० पुरष विश्वकपको उपाधि जितेको थियो।

उसलाई यस पटक पनि टी-२० विश्वपको उपाधिको दाबदोरीमा राखिएको थियो, तर समूह चरणबाटै बाहिरिएपछि टोलीको चौतर्फी आलोचना भइरहेको छ। 'हामीले यस विश्वकपको सुरुमा भनेका थियौं हामी अष्ट्रेलियाको बारेमा चिन्तित छौं,' पेस बलर ग्लेन म्याकग्राले पत्रकारहरूलाई भने, 'तीव्र गतिका बलरहरू प्याट कमिन्स, जोश हेजलवुड र मिचेल स्टार्कको अनुपस्थितिले हाम्रो टोली अलि कमजोर भयो।'

अष्ट्रेलियाले समूह चरणको चार खेलअन्तर्गत दुई खेलमा विजय र दुई खेलमा पराजय भोगेको थियो। समूहको बलियो मानिएको टाेली यो पटक विश्वकपमा सन्तोषजनक प्रदर्शन गर्न सकेन।

सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्यान्डले संयुक्त रूपमा टी-२० विश्वकपको आयोजना गर्दछ। अस्ट्रेलियाले आयोजकको रूपमा स्वत: विश्वकपमा स्थान बनाइसकेको छ।

प्रकाशित: १० फाल्गुन २०८२ १४:४० आइतबार