नेपाल नम्बर एक खेलाडी प्रिन्स दाहाल १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पहिलो खेलमा नै पराजित भएका छन्।
ग्वार्कोस्थित सहआयोजक यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ तर्फ प्रिन्स पहिलो खेलमै पराजित भएका हुन्। एपिएफका प्रिन्स आफ्नै विभागका क्षितिज खनालसँग २-१ सेटमा पराजित भए। प्रिन्स पूर्वविश्व जुनियर नम्बर एक खेलाडी पनि हुन्।
पहिलो दिन पुरुष एकलमा शीर्ष आठ वरीयता प्राप्त खेलाडीबिच भएको खेलमा राष्ट्रिय नम्बर एक खेलाडी प्रिन्स पराजित भए। एसियन गेम्सको छनोटमा पनि प्रिन्स क्षितिजसँग नै पराजित भएका थिए। जुन हारको शृंखला पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टनमा पनि दोहोरिएको छ। प्रिन्सले पुनरागमन गर्ने प्रयास गरे पनि सफल भएनन्। उनले पहिलो सेट १६-२१ ले गुमाए। तर, प्रिन्सले दोस्रो सेट २१-१३ ले आफ्नो पक्षमा पारे।
तेस्रो तथा निर्णायक सेटमा पुनः १६-२१ ले पछि परेसँगै प्रिन्सले लगातार स्तब्धपूर्ण नतिजा सामना गरे। १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन सोमबारबाट सुरु भएको हो। नेपाल खेलकुद महासंघको आयोजना एवं यल स्पोर्ट्स एकेडेमीको सहआयोजनामा भएको प्रतियोगिताको नेकपा एमाले संगठन प्रमुख एवं पूर्वमन्त्री भानुभक्त ढकालले उद्घाटन गरेका थिए। समूह ‘ए’ कै पुरुषको अर्को खेलमा नेपाल पुलिस क्लबका सुनील जोशीले सफलता पाए। उनले पुलिसकै जीवन आचार्यलाई १६-२१, २१-१५, २१-१५ ले हराए। समूह ‘बी’ को खेलमा आर्मीका प्रफुल महर्जनले पुलिसका दीपक बोहरालाई २१-५, २१-१७ र पिस फिटनेस सेन्टरका विष्णु कटुवालले पुलिसका देवराज रानालाई २१-१७, २१-१९ ले हराए।
महिला एकलमा समूह ‘ए’ को खेलमा पुलिसकी सुष्मा श्रेष्ठले आर्मीकी अनुमाया राईलाई २१-१६, २०-२२, २१-१६ ले हराइन्। महिलामा पनि नेपालको शीर्ष आठ वरीयतामा प्रतिस्पर्धा भएको हो। आर्मीकी रसिला महर्जनले पुलिसकी शेष्ना श्रीपालीलाई २१-८, २१-११ ले हराउँदै सुखद सुरुआत गरिन्। समूह ‘बी’ को प्रतिस्पर्धामा एपिएफकी रिहाना शेरचन र पुलिसकी निता लम्साल विजयी भए।
रिहानाले आर्मीकी अमिता गिरीलाई २१-१३, २१-१२ र निताले सिटिजन बैंककी नङ्सल तामाङलाई २१-१६, ११-२१, २१-१७ ले हराइन्। शीर्ष आठबाहेक पुरुष एकलमा कर्णालीका रमेश कामी, कस्तुरी कलेजका मिसेक छोङवाङ, आर्मीका सौर्य महर्जन र शिशिर राना, एपिएफका सुमित थोकर, आर्मीका विशाल तामाङ अन्तिम ३२ मा पुगे।
पुलिसका टोपलाल कुमाल, मन्डला ब्याडमिन्टन एकेडेमीका अनन्त पाख्रिन, आर्मीका प्रतीक विष्ट, पुलिसका जोन जसराज बालकुमारी रिमिक्सका सम्यक शाक्य, एपिएफका सुजन थापा, विनय चौधरी र सुनसरीका नरेन्द्र लिम्बु आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम ३२ मा पुगे। नेपाल ब्याडमिन्टन संघसँग आबद्ध ६० जिल्ला, तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफ का ४८२ खेलाडीले १५ विधामा प्रतिस्पर्धा गर्दै छन्।
आगामी साउन ३० गतेसम्म आयोजना हुने प्रतियोगितामा ब्याडमिन्टनका शीर्ष आठ वरीयताका महिला/पुरुष एकल, शीर्ष आठ वरीयताबाहेक महिला/पुरुष एकल, महिला/पुरुष युगल खुला, यु-११, यु-१५ र यु-१९ छात्र तथा छात्रा खुला एकल, ३५ वर्ष माथिको खुला युगल, ४५ र ५५ वर्षमाथि मास्टर्स खुला युगल गरि १५ विधामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा ४५ र ५५ वर्षमाथि मास्टर्स खुला युगलतर्फ विदेशी खेलाडीहरूले पनि सहभागिता जनाउने र त्यसका लागि विदेशी खेलाडीलाई आमन्त्रण गरी सकिएको महासचिव सुनीलमान शाक्यले बताए। प्रतियोगितामा लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीले मोटरसाइकल/स्कुटर प्राप्त गर्नेछन्। यसअघि लगातार तीन संस्करण जितेका प्रिन्सले मोटरसाइकल प्राप्त गरेका थिए।
शीर्ष आठ वरीयता प्राप्त महिला तथा पुरुषका खेल लिग कम नकआउटका आधारमा हुनेछन्। शीर्ष आठका खेलाडीलाई दुई समूहमा विभाजन गरिनेछ। समूहबाट शीर्ष दुई स्थान प्राप्त गर्ने खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन्। विजेताले नगद ५० हजार, उपविजेताले नगद ३५ हजार, तेस्रो हुने खेलाडीले १५ हजार प्राप्त गर्नेछन्।
प्रकाशित: २६ श्रावण २०८३ ०७:४८ मंगलबार