नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को आयोजनामा प्रिस्कुलमा अध्ययनरत बालबालिकालाई लक्षित प्रिस्कुल गेम्स २०८२ सम्पन्न भएको छ।
गोदावरी नगरपालिका र एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल (एपेन) को सहआयोजनामा नेपालमा पहिलोपल्ट प्रिस्कुलमा अध्ययनरत बालबालिकाका लागि प्रिस्कुल गेम्स आयोजना भएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार एक विशेष कार्यक्रममा बीच उक्त खेलकुद सम्पन्न भयो। उक्त गेम्समा पिटी म्युजिक, जुम्बा नृत्य, हुला हुप, तेक्वान्दो प्रदर्शन र विभिन्न खेल गतिविधि गरी चार विधा सञ्चालन भएका थिए।
करिब सात सय ५० जना बालबालिकाले प्रतिस्पर्धा गरेको महासंघले जनाएको छ। अविभावकहरूले दर्शक दिर्घामा बसेर आफ्ना बालबालिकाका खेल कौशल निकै उत्साहित भएर उत्सव मनाएका थिए। उक्त कार्यक्रम रंगशालाको ट्य्राक एन्ड फिल्डमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रिस्कुल र प्राथमिक तहमा अध्ययनरत विभिन्न उमेरसमूहका बालबालिकाले गेम्समा उत्साहजनक सहभागिता रहेको थियो। मार्च पास्टबाट औपचारिक रूपमा प्रिस्कुल गेम्सको औपचारिक सुरुआत भएको हो।
राष्ट्रिय झन्डा, राखेपको झन्डा, कार्यक्रमको ब्यानर तथा महासंघको झन्डासहित सहभागी विद्यालयका विद्यार्थीहरूले मार्च पास्ट गरेका थिए। महासंघका अध्यक्ष विनोद श्रेष्ठ र महासचिव राजकुमार कार्कीले खेलकुद विकासका लागि प्राथामिक तहबाट खेल खेलाउन आवश्यक रहेको बताए।
उद्घाटनको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी बोर्ड सदस्य रञ्जना प्रधान, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रामकृष्ण महर्जन र प्रा. पशुपति अधिकारी, महासंघका उपाध्यक्ष मोहनकुमार कार्की, एपेनका अध्यक्ष बद्री दाहाल र प्याब्सनका महासचिव आरबी कटवाललगायत विभिन्न खेल संघका पदाधिकारीहरू सहभागी थिए।
प्रिस्कुल गेम्सका विजेतालाई राखेपका कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठ र महासंघका महासचिव कार्कीले पुरस्कृत गरे। बालबालिकामा खेलकुदप्रतिको रुचि विकास गराउने तथा प्रारम्भिक उमेरदेखि नै खेलकुद संस्कृतिको प्रवर्धन गर्न प्रिस्कुल गेम्स आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रकाशित: १ चैत्र २०८२ ०८:३७ आइतबार