खेल

विश्वभरका पाहुनालाई स्वागत गर्ने तयारी

तीन राष्ट्रमा आयोजना हुने फिफा विश्वकपको २३औं संस्करणको उद्घाटन समारोहका लागि सहआयोजक मेक्सिको विश्वभरका पाहुनालाई स्वागत गर्ने तयारी छ। तर यतिबेला मेक्सिकोको राजधानी मेक्सिको सिटीमा बढ्दो सामाजिक तनाव देखिन थालेको छ।

सहभागिताको संख्याका हिसाबले पहिलोपल्ट सबैभन्दा ठूलो विश्वकप मेक्सिकोले  अमेरिका र क्यानडासँग संयुक्त रूपमा आयोजना गर्दै छ। जसको उद्घाटन मेक्सिकोकै राजधानी मेक्सिन सिटीमा हुनेछ। मेक्सिकोले बिहीबार भव्य उद्घाटन समारोह र खेलमार्फत विश्वकपको सुरुआत गर्दै छ, जहाँ विश्व चर्चित कलाकारहरूको उपस्थितिमा हुनेछ। यो कार्यक्रमले विश्वकपको माहोल बढाउने अपेक्षा छ। तर विश्वकपको आगमनसँगै मेक्सिकी राष्ट्रपति क्लाउडिया शेइनबउम राजनीतिक रूपमा कठिन अवस्थाबाट गुज्रिरहेकी छन्। जुलाईमा हुने व्यापार वार्ताअघि मेक्सिकोको अमेरिकासँग सम्बन्ध बिग्रँदो स्थितिमा छ।  

साथै विभिन्न राजनीतिक विवाद र फेब्रुअरीमा विश्वकप आयोजक सहरमध्ये एकमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा चिन्ताले मेक्सिकोको सरकारमाथि दबाब बढाएको छ।

विश्वकप हेर्न आउने पाहुनाको संख्या बढ्दै जाँदा सरकारमाथि आलोचना थप चर्किदै छ। प्रदर्शनकारी र स्थानीय बासिन्दाले सरकारले देशका महŒवपूर्ण सामाजिक आवश्यकताभन्दा विश्वकप आयोजनालाई प्राथमिकता दिएको आरोप लगाएका छन्। मेक्सिकन सेन्टर फर रिसर्च एन्ड इकोनोमिक एजुकेसनका राजनीतिक विश्लेषक कार्लोस पेरेज रिकार्टले विश्वसामु वास्तविकतासँग पूर्ण रूपमा मेल नखाने एउटा छवि मेक्सिकोले प्रस्तुत गर्न खोजिरहेको उल्लेख गरे। ‘विश्वकपले राष्ट्रपतिलाई संवेदनशील अवस्थामा पु¥याएको छ। सरकार अत्यधिक दबाबमा छ ,’ उनको भनाइ छ।

फिफाको लोगो, सुन्तलारङ्गी फुल, विशाल फुटबल तथा अन्य सजावटले मेक्सिको सिटी, ग्वाडालाहारा र मोन्टेरेका सडकहरू सिँगारिएका छन्। विभिन्न देशका समर्थकहरू आफ्नो टोलीको जर्सी लगाएर प्रसिद्ध स्मारकहरू अगाडि तस्बिर खिच्दै उत्साहपूर्वक घुमिरहेका छन्। मेक्सिकन फुटबल महासंघले विश्वकपबाट होटल, रेस्टुरेन्ट र खेलस्थलहरूले करिब तीन अर्ब अमेरिकी डलरको आर्थिक लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ। बिहीबारको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। उक्त उद्घाटन समारोहमा कोलम्बियाकी विश्वप्रसिद्ध गायिका साकिरासहित विभिन्न कलाकारहरूको प्रस्तुति हुने कार्यक्रम छ। उद्घाटन सफलतापूर्वक सम्पन्न भयो भने यसले राष्ट्रपति शाइनबाउमको छविलाई बलियो बनाउने विश्लेषकहरूको विश्वास छ। यसले मेक्सिको आधुनिक र ठूला अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न सक्षम राष्ट्र भएको सन्देश दिनेछ।  

मेक्सिको सिटीमा बढ्दो प्रदर्शन

फेब्रुअरीमा ग्वाडालाहारामा भएको हिंसात्मक घटनापछि सुरक्षा चिन्तालाई कम गर्न मेक्सिकी अधिकारीहरूले महिनौंदेखि सुरक्षा व्यवस्था कडा बनाएका छन्।

खेल आयोजना हुने तीनवटा सहरमा एक लाखभन्दा बढी सैनिक, नौ सेना सदस्य, नेसनल गार्ड र प्रहरी परिचालन गरिएको छ। तर पछिल्ला साताहरूमा बढ्दै गएको सामाजिक असन्तुष्टि सरकारका लागि ठूलो चुनौती बनेको छ। आलोचकले अन्तर्राष्ट्रिय पाहुनालाई आकर्षित गर्न सरकारले अत्यधिक समय र स्रोत खर्च गरेको तर स्थानीय नागरिकका समस्या बेवास्ता गरेको आरोप लगाएका छन्। एक साताभन्दा बढी समयदेखि शिक्षक संगठनले राम्रो सेवासुविधाको माग गर्दै सडक अवरुद्ध गरिरहेको छ। कतिपय प्रदर्शनकारीहरूले विश्वकपका प्रतिमासमेत भत्काएका छन्।  

बेपत्ता भएका एक लाख ३० हजारभन्दा बढी व्यक्तिका परिवारजनले आफ्ना आफन्तका तस्बिरसहितका पोस्टर टाँस्दै सरकारले मानवीय संकट समाधानमा ध्यान दिनुपर्ने बताएका छन्। ‘हामी फुटबलविरुद्ध होइनौं। तर सहर सजाउनुभन्दा शिक्षा क्षेत्रमा लगानी हुनुपर्छ,’ प्रदर्शनकारीका एक सदस्य लुइस एन्टोनियो रोसालेस नार्भाएजले भने। मंगलबार राष्ट्रपति शाइनबाउमले विश्वकपअघि कुनै सामाजिक अशान्ति नभएको दाबी गर्दै आलोचनाबारे अस्वीकार गरिन्। ‘विपक्षले लामो समयदेखि तयारी गरिएको अन्तर्राष्ट्रिय कार्यक्रमकै बीच देशमा अराजकता र समस्या रहेको सन्देश दिन खोजिरहेको छ,’ उनले भने।  

उत्साहसँगै आलोचना

अमेरिका महादेशभरका विमानस्थलहरू विश्वकप समर्थकले भरिएका छन्। उत्तर र दक्षिण अमेरिकाबिचको प्रमुख प्रवेशद्वार मानिने पानामा सिटी विमानस्थल अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, स्पेन र जर्मनीलगायत देशका समर्थकहरूको रंगीन जर्सीले ढाकिएको छ। ‘यस वर्ष हामी उपाधि रक्षा गर्दैछौं। अर्जेन्टिनालाई संसारको जुनसुकै कुनासम्म पनि पछ्याउनेछौं,’ ब्युनर्स आयर्सका २९ वर्षीय एमिलियो सोसाले भने।

४३ वर्षीय कोलम्बियाली समर्थक डेभिड बोतेरोले विश्वकपलाई केन्द्रमा राखेर पारिवारिक बिदाको योजना बनाएका छन्। उनले उच्च खर्चबाट बच्न आफ्नो यात्रा तालिका परिवर्तन गर्दै मेक्सिको सिटीमा कोलम्बियाको पहिलो खेल हेर्न जाने बताए। ‘हाम्रो टोलीलाई नजिकबाट हेर्न पाउनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भने। तर सबैजना उत्तिकै उत्साहित छैनन्। ६६ वर्षीय चिकित्सक जोसे लुइस मुन्योसले भने यस वर्ष खेल हेर्न जान नसक्ने बताए। टिकटको मूल्य सयौं डलरसम्म पुगेको उनले उल्लेख गरे। मुन्योसले सन् १९८६ को विश्वकपका बेला आफ्ना साना छोराछोरीलाई रंगशालामा लगेर खेल हेरेको र त्यो अनुभव जीवनकै अविस्मरणीय क्षण बनेको सम्झिए।

‘म निकै उत्साहित थिएँ, त्यो खुसी मैले आफ्ना सन्तानमा पनि बाँडेको थिएँ,’ उनले भने। तर यस वर्ष टिकट महँगो भएकाले उनी खेल हेर्न जान सक्ने अवस्थामा छैनन्। ‘टिकटको मूल्य अत्यन्तै महँगो छ। धेरै मानिस खेल हेर्न जान सक्दैनन्, जबसम्म उनीहरू धनी विदेशी होइनन्। यो विभेदपूर्ण जस्तो लाग्छ,’उनले भने। यद्यपि, उनले आफ्ना छोराछोरी र नातिनातिनासँग घरमै बसेर मेक्सिकोको राष्ट्रिय टोलीलाई समर्थन गर्ने बताए। एपी

प्रकाशित: २८ जेष्ठ २०८३ ०८:३२ बिहीबार