पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी सुरु भएको छ।
संघ सरकार र संघीय सहरी विकास तथा भवन निर्माण विभागले छुट्टाछुट्टै बजेट विनियोजन गरिदिएपछि पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी सुरु गरिएको हो।
फ्लडलाईटका लागि हाल ८ करोड बजेट रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले जानकारी दिए। उनका अनुसार संघ सरकारले फ्लडलाईटका लागि ५ करोड विनियोजन गरिदिएको छ भने संघीय सहरी विकास कार्यालयले ३ करोड बजेट विनियोजन गरेको छ।
फ्लडलाईटका लागि करिब १६ करोड खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष गुरुङले बताए। अपुग रकम संघ सरकार र संघीय सहरी विकास कार्यालयले थपिदिने उनको आशा छ।
अहिले सुरु गर्न बजेट छ,उनले भने,‘गर्दै जाँदा संघ सरकार र सहरी विकास दुवैले बजेट थप्ने कुरा छ ।’ पोखरा रंगशालाको समग्र स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८३्/८४ मा १९ करोड रहे पनि ८ करोड रुपैयाँ फ्लडलाईटका लागि खर्च गरिने उनले स्पष्ट पारे।
बाँकी रकम क्रिकेट रंगशालास्थित भवन स्तरोन्नति गरिनेछ भने बहुउद्देश्यीय कभर्ड हलको पनि स्तरोन्नति गरिने उनले बताए।
‘बहुउद्देश्यीय भवन बनाउने भनेर बजेट परेको छ’,उनले भने,‘पोखरा रंगशालामा पहिले नै बहुउद्देश्यीय भवन बनिसकेको र अर्को बहुउद्देश्यीय भवन बनाउने ठाउँ पनि नरहेकाले भइरहेकै भवनको स्तरोन्नतिमा खर्च गर्ने तयारीमा हामी छौँ।’
फ्लडलाईटको लागि दशैं लगत्तै टेन्डर गर्ने गरी काम अघि बढेको अध्यक्ष गुरुङले जानकारी दिए। नेपाल नागरिक उड्डयन प्राधिकरण (सिभिल एभिएसन अथोरिटी अफ नेपाल क्यान)ले फ्लडलाईटका लागि अनुमति दिए यथाशीघ्र डिपीआर तयार गरेर टेन्डर निकालिने उनको भनाई छ। बजेट भएर मात्रै हुँदैन रहेछ,उनले भने,‘प्राविधिक कुराहरू मिलाउन धेरै छ, हामी त्यसका लागि लागिरहेका छौँ।’
फ्लडलाईटका लागि आवश्यक उचाइबारे निक्याैल गर्न क्यानका ई.कृष्ण पौडेलले स्थलगत अवलोकन गरेका छन्। उनले रंगशालाको अवलोकन गर्दै फ्लडलाईटका लागि आवश्यक उचाइबारे जिज्ञासा राखेका थिए।
स्थलगत अवलोकनपश्चात् प्राविधिक विश्लेषण गरेर कतिसम्मको उचाइमा फ्लडलाईट राख्न सकिन्छ भनेर निर्णय गरिने ई.पौडेलले बताए।
उनले भने,‘रंगशाला समुन्द्री सतहभन्दा कति उचाइमा छ ? फ्लडलाईट राख्न कति उचाइ आवश्यक छ ? त्यसले एयरपोर्टलाई असर गर्छ कि गर्दैन ? भनेर प्राविधिक विश्लेषणपछि हामी निर्णयमा पुग्छौँ।’
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गुरुङले फ्लडलाईटका लागि कम्तीमा पनि १८ देखि २० मिटर उचाइ आवश्यक हुने बताए। ‘एयरपोर्टले १५ मिटरसम्म दिने बताइसकेको छ’,उनले भने,‘बाँकी कुरा स्थलगत अवलोकनपश्चात् हुने प्राविधिक विश्लेषणपछि थाहा हुने बताउनु भएको छ।’
उनले फ्लडलाईट थोरै उचाइमा राखेर पनि खेल खेलाउन सकिने प्रविधि आइसकेकाले पोखरा रंगशालामा फ्लडलाईट राखेरै छाडिने बताए। फ्लडलाईट यस पटक राखेरै छाडिन्छ’,उनले भने,‘यस पटक बजेट अभाव वा अन्य कुनै पनि कारणले रोकिने वाला छैन र रोकिन दिँदैनौँ हामी।’
संघीय सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर प्रवेशराज लामिछानेले फ्लडलाईट जडानका लागि आफूहरू अध्ययनमा रहेको बताए। विस्तृत अध्ययन गरेर कम लगानीमा उत्कृष्ट काम गर्ने प्रयासमा छौँ हामी’,उनले भने,‘त्यसका लागि एयरपोर्टको मापदण्डले कस्तो असर गर्छ ? भन्ने मात्रै हो। हामी एयरपोर्टको निर्णयको पर्खाइमा छौँ।’
उनले फ्लडलाईटका लागि सरदर ३५ मिटरको उचाइ आवश्यक पर्ने भएकाले त्योभन्दा कम उचाइका लागि मात्रै एयरपोर्टले अनुमति दिएमा प्राविधिक कठिनाइ हुनसक्ने उनको भनाई छ। तर त्यसको पनि विभिन्न विकल्पमा जान सकिने तर खर्चिलो हुनसक्ने उनले बताए। उनले बहुवर्षिय योजना भएकाले फ्लडलाईटका लागि आगामी वर्ष पनि बजेट थपिने बताए।
जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपालीले प्राविधिक विषय टुंगिने बित्तिकै फ्लडलाईट जडानको काम द्रुत गतिमा अघि बढ्ने बताए।
‘धेरै ताकेता गरेपछि क्यानको इन्जिनियर आएर स्थलगत अवलोकन गर्नु भएको छ’,उनले भने,‘अब प्राविधिक विश्लेषणपश्चात् प्राविधिक पक्षको गाँठो फुकाईदिए लगत्तै डिपीआर निर्माण गरेर टेन्डर प्रक्रियामा गइहाल्छौँ।’
पोखरा रंगशालामा फ्लडलाईट जडान भए राती खेल हेर्ने पोखरेलीको वर्षौँदेखिको सपना पूरा हुनेछ। वर्षौं अघिदेखि पोखरेलीले पोखरा रंगशालास्थित फुटबल मैदानमा फ्लडलाईट जडानका लागि आग्रह गर्दै आएका छन्। तर बजेट अभावमा थाती रहँदै आएको सो सपना अब पूरा हुने भएपछि पोखरेली खुसी भएका छन्।
प्रकाशित: ५ भाद्र २०८३ १७:०२ शुक्रबार
-600x400.jpg)

-600x400.jpg)
